काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोसी प्रदेशमा विद्युत् आपूर्ति थप नियमित, गुणस्तरीय र भरपर्दो बनाउँदै विद्युत् खपत बढाउन विशेष योजना बनाउन निर्देशन दिएका छन्।
कोसी भ्रमणका क्रममा उनले विद्युत् आपूर्तिका समस्या र नागरिकका गुनासा तत्काल सम्बोधन गर्न तथा प्रसारण र वितरण पूर्वाधार सुधारलाई तीव्रता दिन प्राधिकरणका अधिकारीलाई निर्देशन दिए।
मन्त्री श्रेष्ठले सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा विद्युत् आपूर्ति सहज बनाउने, इनरुवालाई विद्युत्को ‘हब’का रूपमा विकास गर्ने तथा उद्योग–व्यवसायमा विद्युत् खपत बढाउने वातावरण बनाउनुपर्ने बताए।

कोसी प्रदेशमा १४ जिल्लाका २४ वितरण शाखामार्फत ११ लाख ३७ हजारभन्दा बढी ग्राहकलाई विद्युत् सेवा दिइएको छ। प्रदेशको विद्युत् चुहावट ११.२१ प्रतिशतमा झरेको प्राधिकरणले जनाएको छ।
मन्त्री श्रेष्ठले विद्युत् निर्यातसँगै देशभित्रै खपत बढाउने र पूर्वी क्षेत्रमा देखिएका विद्युत् आपूर्ति तथा प्रसारणसम्बन्धी समस्या प्राथमिकताका आधारमा समाधान गर्ने बताए।