दाङ । लुम्बिनी प्रदेशसभा सदस्य राजकुमार चौधरीले आफूलाई प्रदेशसभामा विपक्षी दलको बेञ्चमा बस्ने व्यवस्था मिलाइदिन माग गरेका छन्।
चौधरीले प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै साविक नेकपा (माओवादी केन्द्र) बाट एकलौटी रूपमा गरिएको निर्णयका कारण आफू साविक नागरिक उन्मुक्ति पार्टीको हैसियतमा हालको सरकारको विपक्षमा रहेको उल्लेख गरेका छन्।
उनले पार्टी एकताको मूल मर्म र भावनाविपरीत भएको निर्णयका कारण आफू विपक्षीको भूमिकामा रहनुपर्ने अवस्था सिर्जना भएको भन्दै प्रदेशसभामा आफ्नो संवैधानिक तथा संसदीय मर्यादा कायम हुने गरी कुर्सीको व्यवस्था गर्न आग्रह गरेका हुन्।

“प्रदेशसभामा मेरो संवैधानिक तथा संसदीय मर्यादा कायम हुने गरी विपक्षी दलको हैसियतमा कुर्सी मिलाइदिनुहुन हार्दिक अनुरोध गर्दछु,” चौधरीले पत्रमा उल्लेख गरेका छन्। त्यसैगरी उनले संसदीय अभ्यास, मर्यादा र परम्पराअनुसार आवश्यक व्यवस्था मिलाइदिन प्रदेशसभा सचिवालयसँग आग्रह गरेका छन्।
चौधरीले प्रदेशसभा सचिवालयलाई पठाएको पत्रमा आफूलाई साविक नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यका रूपमा उल्लेख गरेका छन्। अब उनको मागअनुसार प्रदेशसभामा बस्ने स्थानसम्बन्धी व्यवस्था कसरी गरिन्छ भन्ने विषय चासोको विषय बनेको छ।
