विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिँदैछन्। कार्कीले आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।
केन्द्रमा भएको एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीचको तीनबुँदे सहमतिअनुसार गत सोमबार नयाँ मन्त्रीहरूले शपथ ग्रहण गरेका थिए। त्यसअघि नेपाली कांग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको थियो। कांग्रेसले भदौ ३ गते नै समर्थन फिर्ता लिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो।
संविधानको धारा १६८ को उपधारा ९५० अनुसार २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए।

त्यसपछि एमाले र तत्कालीन माओवादी केन्द्रबीचको गठबन्धन टुटेर कांग्रेससँग गठबन्धन बनेपछि कार्कीले दोस्रो पटक २०८१ असोज २ गते विश्वासको मत लिएका थिए।