विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए। मुख्यमन्त्री कार्कीले ५७ मत प्राप्त गरे। कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सदस्य छन्। त्यस्तै, विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए। कांग्रेसका २९ प्रदेशसभा सदस्य रहेकामा २२ मत विपक्षमा परेको छ।
राप्रपाका सभामुखसहित पाँच प्रदेशसभा सदस्यले भने मतदानमा भाग लिएनन्। जनता समाजवादी पार्टीकी एक मात्र प्रदेशसभा सदस्य निर्मला लिम्बू बैठकमा उपस्थित भइनन्। कोशी प्रदेशसभामा कुल ९३ सदस्य रहेकामा एक जनाले राजीनामा दिएपछि हाल ९२ सदस्य छन्। आजको बैठकमा ८३ जना प्रदेशसभा सदस्य उपस्थित भएका थिए।
