Lite Nepal

सोमबार, भाद्र ०८, २०८३
फाइल फोटो

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले बलात्कार तथा जघन्य अपराधमा संलग्नलाई कठोर सजाय दिनुपर्ने माग गरेका छन्। केही सांसदले प्रमाणित भएका बलात्कार र हत्याका घटनामा दोषीलाई मृत्युदण्ड दिने कानुन तत्काल बनाउनुपर्ने बताएका छन्।

तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई संसद्मा उठाउँदै सांसदहरूले पछिल्ला यस्ता घटनाले राज्यको सुरक्षा व्यवस्था र विद्यमान कानुनमाथि गम्भीर प्रश्न उठाएको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले नेपालमा मात्र नभई विदेशमा समेत नेपाली महिला तथा बालिका असुरक्षित रहेको बताए। उनले जापानमा अध्ययनरत २५ वर्षीया लक्ष्मी राजवंशीको हत्या र झापाकी १२ वर्षीया रेबिका विश्वकर्मा बेपत्ता भएको विषय संसद्मा उठाउँदै तत्काल प्रभावकारी खोजी तथा अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराए।

पाठकले संविधानको सम्मानपूर्वक बाँच्न पाउने हकले अपराधीलाई संरक्षण गर्ने अर्थ नदिने भन्दै जघन्य अपराधमा संलग्नलाई कठोर सजाय दिनुपर्ने बताए। नेपालले अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी प्रतिबद्धता जनाएका कारण मृत्युदण्डमा संवैधानिक तथा कानुनी बन्देज रहे पनि आवश्यक परे त्यसलाई पुनरावलोकन गर्नुपर्ने उनको तर्क थियो।

रास्वपाकी सांसद रञ्जु दर्शनाले छोरीलाई सम्मान गर्ने भनिएको समाजमा उनीहरू नै असुरक्षित हुनु दुःखद भएको बताउँदै विद्यालय तहदेखि नै लैंगिक हिंसा र अपराधविरुद्ध चेतना विकास गर्नुपर्नेमा जोड दिइन्। कांग्रेसका सांसद शाहजान खातुन र निनुकुमारी कर्णले पनि यस्ता घटना नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्ने बताए। श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले घटनाबारे सरकारले संसद्मा जवाफ दिनुपर्ने माग गरिन्।

रास्वपा सांसद हरिमोहन भण्डारीले गम्भीर अपराधमा संलग्नलाई कारबाही गर्न आवश्यक कानुन बनाउन आफूहरू तयार रहेको बताए। अर्की सांसद आशिका तामाङले बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्ने माग गर्दै त्यसो गर्न नसके अझ कठोर सजायको कानुनी व्यवस्था गर्नुपर्ने धारणा राखिन्। सांसदहरूले अपराध नियन्त्रणका लागि कठोर कानुनसँगै प्रभावकारी अनुसन्धान, शीघ्र न्याय र सामाजिक चेतनालाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं