काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सांसदहरूले रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित जिल्लालाई सङ्टग्रस्त क्षेत्र घोषणा गर्दै राष्ट्रिय विपद् घोषणा गर्न सरकारसँग माग गरेका छन्।
तिब्बतको जिबुङ क्षेत्रमा हिमताल विस्फोट भएपछि भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले अर्बौँ रुपैयाँ बराबरको क्षति पुर्याउनुका साथै सयौँ नागरिक बेपत्ता भएको भन्दै सांसदहरूले उद्धार कार्यलाई युद्धस्तरमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले बाढीका कारण ८०० भन्दा बढी नागरिक बेपत्ता भएको र २०० भन्दा बढी मानिस अझै उद्धारको पर्खाइमा रहेको जानकारी दिए। उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत, उद्धार, क्षतिपूर्ति र पुनर्निर्माणका लागि पाँचबुँदे प्रस्ताव अघि सारे। चीनले बाढीबारे पूर्वसूचना दिएको थियो वा थिएन भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने तथा तत्काल राष्ट्रिय विपद् घोषणा गर्नुपर्नेमा उनले जोड दिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोसाइँकुण्ड यात्रामा रहेका ३६ जना तीर्थयात्री सवार बस बाढीमा परेको हृदयविदारक घटना सुनाउँदै हजारौँ नागरिक बेपत्ता भएको बताए। उनले घटनालाई राष्ट्रिय विपत्तिका रूपमा लिएर तत्काल प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन गरी उद्धार कार्य तीव्र बनाउन र राष्ट्रिय विपद् घोषणा गर्न माग गरे।
नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले विपद्को समयमा राजनीतिक विषयभन्दा नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताइन्। पीडित नागरिकले राज्यको उपस्थिति महसुस गर्नुपर्ने उल्लेख गर्दै उनले उद्धार तथा राहत कार्यमा सरकारलाई कांग्रेसको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन्।
नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले रसुवामा मोबाइल तथा टेलिफोन सेवा अवरुद्ध भएको जानकारी दिँदै सञ्चार सम्पर्क तत्काल पुनःस्थापित गर्न माग गरे। उनले निजी क्षेत्रका हेलिकप्टरसमेत पूर्ण रूपमा परिचालन गरी उद्धार कार्यमा खटाउन तथा प्रभावित जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न आग्रह गरे।
श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले सडक र पुल निर्माणमा मात्र नभई उद्धारका लागि आवश्यक अत्याधुनिक उपकरण, हेलिकप्टर तथा प्रविधिमा लगानी बढाउन सरकारलाई सुझाव दिए। चीन र भारतसँगको विपद्सम्बन्धी सूचना आदानप्रदान प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने तथा सबै निकाय ‘वन टिम’ भएर परिचालित हुनुपर्ने उनको भनाइ थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीले जलवायु परिवर्तनको असरका कारण नेपालले यस्ता विपद्का घटना भोग्नुपरेको भन्दै जलवायु कूटनीतिलाई थप प्रभावकारी बनाउन माग गरिन्। विगतमा जाजरकोट भूकम्पका बेला नेताहरूबीच हेलिकप्टर प्रयोगमा देखिएको प्रतिस्पर्धा दोहोरिन नहुने भन्दै उनले उद्धार कार्यलाई प्राथमिकतामा राख्न आग्रह गरिन्। ओलीले पनि रसुवा घटनालाई राष्ट्रिय विपद् घोषणा गर्न माग गरिन्।
बाढीका कारण प्रधानमन्त्री बालेन्द्र शाहसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको छ। विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले पनि सङ्कटको घडीमा सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।