काठमाडौँ। बाढी प्रभावित जलविद्युत् आयोजनामा भइरहेको उद्धार तथा व्यवस्थापन कार्यको अवस्थाबारे जानकारी लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठ नुवाकोटको त्रिशूली पुगेका छन्।
त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा मन्त्री श्रेष्ठले गृहमन्त्री सुधन गुरुङसँग उद्धार अभियानको समन्वय तथा पछिल्लो अवस्थाबारे छलफल गरिरहेका छन्। नेपाली सेनाका अधिकारीहरूले जलविद्युत् आयोजनाका सुरुङमा भइरहेको खोज तथा उद्धारको प्रगतिबारे उनलाई जानकारी गराएका छन्।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहसमेत मन्त्री श्रेष्ठसँगै त्रिशूली पुगेका छन्। सुरक्षा अधिकारीबाट जानकारी लिएपछि मन्त्री श्रेष्ठ हेलिकप्टरमार्फत रसुवाका बाढी प्रभावित जलविद्युत् आयोजना तथा उद्धारस्थलको निरीक्षणमा जाने कार्यक्रम छ।