काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय क्षति भएपछि राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूले सरकारसँग माग गरेका छन्।
राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसदहरूले भदौ १० गतेलाई राष्ट्रिय शोक दिवसका रूपमा घोषणा गरी विपद्मा ज्यान गुमाउनेहरूप्रति राज्यको सम्मान र संवेदना प्रकट गर्नुपर्ने बताएका हुन्।

नेपाली कांग्रेसका सांसद युवराज शर्माले राष्ट्रिय सभा अध्यक्षमार्फत सरकारलाई भदौ १० गते राष्ट्रिय शोक दिवस घोषणा गर्न आग्रह गरे। विपद्को कठिन अवस्थामा राजनीतिक तथा सामाजिक रूपमा एकताबद्ध हुँदै खोजी, उद्धार, राहत र पुनःस्थापनाका कामलाई तीव्रता दिनुपर्ने उनको भनाइ थियो।
उनले विपद्पछि प्रचारमुखी गतिविधिभन्दा नागरिकको जीवनरक्षा र परिणाममुखी कामलाई प्राथमिकता दिनुपर्ने बताए। उद्धार तथा राहतका क्रममा प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनमा समेत विशेष ध्यान दिनुपर्ने उनले उल्लेख गरे।
नेकपाकी सांसद मदनकुमारी शाह गरिमाले पनि राष्ट्रिय शोक घोषणा गरी एक दिन राष्ट्रिय झण्डा झुकाउनुपर्ने माग राखिन्। जलवायु परिवर्तनमा विकसित तथा धनी मुलुकहरूको ठूलो भूमिका रहेको उल्लेख गर्दै त्यसको प्रत्यक्ष असर नेपालजस्ता मुलुकले भोग्नुपरेको विषयलाई अन्तर्राष्ट्रिय तहमा उठाउनुपर्ने उनले बताइन्।
यसैगरी, नेकपाका सांसद सुरेशकुमार आलेमगरले विश्वका सम्पन्न मुलुकहरूले निम्त्याएको भूमण्डलीय तापक्रम वृद्धि तथा जलवायु परिवर्तनका कारण असामान्य प्राकृतिक विपद्का घटना बढिरहेको बताए। त्यसको क्षतिको ठूलो भार भने आर्थिक रूपमा कमजोर तथा विकासोन्मुख मुलुकहरूले बेहोर्नुपरेको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए।
सांसदहरूले संसद्मार्फत विपद्को मानवीय तथा वातावरणीय प्रभावबारे सरकारको ध्यानाकर्षण गराउँदै तत्कालीन उद्धार र राहतसँगै दीर्घकालीन पुनःस्थापना तथा जलवायु न्यायका विषयमा समेत सरकारले स्पष्ट पहल गर्नुपर्ने बताएका छन्।