काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिरमा गर्ने गरी सांगठनिक कार्यतालिका प्रस्ताव गरेको छ।
बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको १५औँ केन्द्रीय महाधिवेशन तयारी समिति को दोस्रो बैठकमा महाधिवेशनको मिति तथा विभिन्न तहका अधिवेशनको कार्यतालिका प्रस्ताव गरिएको हो।

बैठकमा प्रस्तुत कार्यपत्रअनुसार १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौँमा गर्ने प्रस्ताव गरिएको छ। प्रस्तावित कार्यतालिकामा वडादेखि केन्द्रसम्मका अधिवेशनको मिति समेटिएको छ। जसअनुसार वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते तथा प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्र अधिवेशन असोज २३ गते गर्ने प्रस्ताव छ।
त्यस्तै, जिल्ला अधिवेशन कात्तिक १५ गते र प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ। प्रस्तावित कार्यतालिकाअनुसार सबै तहका अधिवेशन सम्पन्न भएपछि मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन आयोजना गर्ने तयारी गरिएको छ।