अझै पनि याद छ।।। २४ गते ।
क्यालेन्डरको एउटा मिति मात्रै होइन,

जीवनको एउटा अध्याय हो ।
त्यो दिन शरीर वाट बर्दी झ¥यो,
तर काँधमा बोकेको कर्तव्य झरेन ।
छातीबाट परिचय कार्ड खोसियो,
तर मुटुभित्र गाडिएको देशप्रतिको माया खोसिएन ।
बर्दीका प्रत्येक धागोमा
पसिना मिसिएको थियो,
प्रत्येक टाँकमा
वर्षौँको अनुशासन गाँसिएको थियो ।
त्यसैले
बर्दी खोलिँदा
शरीर मात्र नाङ्गिएको थिएन,
एउटा सिपाहीको जीवनको एउटा पाना
च्यातिएको थियो ।
गत वर्षको जेन्जी आन्दोलनका ती दिनहरू
आज पनि सम्झनाको पर्दामा
धुवाँझैँ तैरिरहेका छन् ।
सडकका आवाजहरू कहिलेकाहीँ
अझै पनि कानमा ठोक्किन्छन्,
…र त्यो २४ गते
मनको कुनै कुनामा
अझै उभिइरहन्छ ।
समयले धेरै कुरा बगाएर लग्यो,
तर
केही दृश्यहरू नदीले बगाउन सक्दैन रहेछ ।
केही पीडाहरू घडीको सुईसँगै मर्दैनन्,
बरु सम्झनाको गहिराइमा
झन् मौन भएर बस्छन् ।
आज फेरि २४ गते हो ।
मसँग त्यो मैले लगाएकै बर्दी छैन,
तर
बर्दीले सिकाएको
अनुशासन छ ।
काँधमा त्यही चिन्ह छैन,
तर देशप्रतिको जिम्मेवारी अझै छ ।
होला, बदलिए परिस्थिति
आत्मसम्मानको रंग फेरिएको छैन।
बर्दी खोस्ने हातले
एउटा सिपाहीको पोसाक खोस्न सक्छ,
तर उसको मनभित्रको देश खोस्न सक्दैन।
त्यो २४ गते
मेरो लागि हारको दिन थिएन,
बरु मौन भएर सहन सिकेको दिन थियो ।
अझै पनि याद छ।
बर्दी मेरो शरीरबाट खोसिएको थियो,
तर मेरो आत्माबाट
सिपाही कहिल्यै खोसिएको थिएन।