काठमाडौं । १८औँ ब्रिक्स शिखर सम्मेलन शनिबारदेखि नयाँ दिल्लीमा सुरु भएको छ। सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ १० वर्षपछि भारतमा एउटै मञ्चमा देखिँदैछन्। यसअघि उनीहरू सन् २०१६ मा गोवामा भएको ब्रिक्स सम्मेलनमा सहभागी भएका थिए।
गलवान झडपपछि पहिलोपटक भारत भ्रमणमा आएका सी जिनपिङ र मोदीबीच द्विपक्षीय भेटवार्ता हुँदैछ। सीमा विवाद र व्यापारसहितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

११ सदस्य राष्ट्र रहेको ब्रिक्समा विश्वको करिब ४९.५ प्रतिशत जनसङ्ख्या र क्रय शक्ति समताका आधारमा करिब ३९ प्रतिशत विश्व अर्थतन्त्र समेटिएको छ। सदस्य राष्ट्रहरू अमेरिकी डलरमा निर्भरता घटाउँदै स्थानीय मुद्रामा व्यापार र डिजिटल भुक्तानी विस्तार गर्ने रणनीतिमा छन्।
सम्मेलनका क्रममा मोदीले इथियोपिया, मलेसिया, यूएई र भियतनामका नेतासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। सन् २००१ मा गोल्डम्यान स्याक्सका अर्थशास्त्री जिम ओ’निलले प्रयोग गरेको ‘ब्रिक्स’ शब्दले २००६ मा संगठनको रूप लिएको थियो। ब्राजिल, रुस, भारत र चीनबाट सुरु भएको समूहमा २०१० मा दक्षिण अफ्रिका तथा पछिल्लो चरणमा इरान, इजिप्ट, यूएई र इथियोपियालगायत देश थपिएका छन्।
पाकिस्तान र टर्कीले सदस्यताका लागि इच्छा देखाए पनि पाकिस्तानको सदस्यता हालसम्म टुंगिएको छैन। नेपालले भने ब्रिक्समा सहभागी हुन कुनै औपचारिक इच्छा देखाएको छैन।