देहरादुन । भारतको उत्तराखण्डमा शनिबार बिहानदेखि लगातार भइरहेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । मौसम विज्ञान केन्द्रले आइतबार देहरादूनसहित तीन जिल्लाका केही क्षेत्रमा भारी वर्षाको रेड अलर्ट जारी गरेको छ । खराब मौसमका कारण सुरक्षालाई ध्यानमा राख्दै चारधाम यात्रा आइतबारसम्मका लागि स्थगित गरिएको छ ।
मौसम विज्ञान केन्द्रका अनुसार देहरादून, पौडी र टिहरी जिल्लाका केही क्षेत्रमा अत्यधिक भारी वर्षाको सम्भावना छ । ति जिल्लामा रेड अलर्ट जारी गरिएको छ । प्रदेशका अन्य जिल्लामा पनि भारी वर्षाका लागि अरेन्ज अलर्ट जारी गरिएको छ । यससँगै ३० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्न सक्ने अनुमानसमेत गरिएको छ ।

मौसमविद्हरूले वर्षाका बेला सतर्क रहन र अत्यावश्यकबाहेक पहाडी क्षेत्रमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
५७ सडक अवरुद्ध
लगातारको वर्षा र पहिरोका कारण उत्तराखण्डमा ५७ वटा सडक अवरुद्ध भएका छन् । तीमध्ये अल्मोडामा दुई, बागेश्वरमा चार, चमोलीमा आठ, देहरादूनमा आठ र नैनीतालमा ११ वटा सडक बन्द छन् । त्यस्तै पौडीमा तीन, पिथौरागढमा ११, रुद्रप्रयागमा तीन, टिहरीमा पाँच र उत्तरकाशीमा दुई सडक अवरुद्ध रहेको जनाइएको छ ।
सडक अवरुद्ध भएपछि विभिन्न क्षेत्रमा आवतजावत प्रभावित भएको छ । वर्षाका कारण नदीहरूमा पानीको सतहसमेत बढेको छ । हरिद्वारमा शनिबार अपराह्न ४ बजे गंगा नदीको पानीको सतह खतराको तहभन्दा करिब तीन मिटर मात्रै तल रहेको थियो ।
रुद्रप्रयागमा अलकनन्दा र मन्दाकिनी तथा बागेश्वरमा सरयू नदीको जलस्तर पनि खतराको तह नजिक पुगेको जनाइएको छ ।
चारधाम यात्रा रोकियो
पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षालाई ध्यानमा राख्दै गढवाल आयुक्त आनन्द स्वरूपले चारधाम यात्रा आइतबारसम्मका लागि स्थगित गरेका छन् । यात्रा स्थगित गर्ने निर्णयपछि एआरटीओ कार्यालयमा ग्रीन कार्ड र ट्रिप कार्ड जारी गर्ने कामसमेत रोकिएको छ । चारधाम जाने यात्रुहरूलाई सम्बन्धित ट्रान्जिट क्याम्पमै रोकिन आग्रह गरिएको छ ।
सहायक सम्भागीय परिवहन अधिकारी ऋषिकेश रावत सिंह कटारियाका अनुसार गढवाल आयुक्तको आदेशपछि यात्रा रोकिएको हो । यसअघि खराब मौसमका कारण केदारनाथतर्फको यात्रा तथा हेलिकोप्टर सेवा पनि प्रभावित भएको थियो ।
उधमसिंह नगरमा सबैभन्दा बढी वर्षा
उत्तराखण्डमा पछिल्लो अवधिमा सबैभन्दा बढी वर्षा उधमसिंह नगर जिल्लामा रेकर्ड भएको छ । गुलरभोजमा ९१.५ मिलिमिटर, काशीपुरमा ८९ मिलिमिटर र गदरपुरमा ८६ मिलिमिटर वर्षा भएको छ ।
त्यस्तै नैनीतालको कोश्याकुटोलीमा ८७.५ मिलिमिटर, नैनीतालमा ७८.५ मिलिमिटर र धारीमा ६६.५ मिलिमिटर वर्षा भएको छ । चम्पावतको पाटीमा ७२.५ मिलिमिटर, लोहाघाटमा ६८.५ मिलिमिटर र चम्पावतमा ६०.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ । पौडी गढवालको नैनीडाँडामा ६५ मिलिमिटर, ल्यान्सडाउनमा ५४ मिलिमिटर र कालागढमा ५२.५ मिलिमिटर वर्षा भएको जनाइएको छ ।
अल्मोडाको जैन्तीमा ६३ मिलिमिटर, शीतलाखेतमा ६१.५ मिलिमिटर र रानीखेतमा ५७.५ मिलिमिटर वर्षा भएको छ । देहरादूनको निरञ्जनपुरमा ५७ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ ।
अन्य क्षेत्रमा पनि भारी वर्षा
देहरादूनको रायवाला क्षेत्रमा २०.५ मिलिमिटर र चकरातामा १८.५ मिलिमिटर वर्षा भएको छ । पिथौरागढको गनाई गंगोलीमा ४७.५ मिलिमिटर, बागेश्वरको डंगोलीमा ४७ मिलिमिटर र उत्तरकाशीको जानकी चट्टीमा ४३ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ ।
त्यस्तै चमोलीको पोखरीमा ४२ मिलिमिटर, रुद्रप्रयागको अगस्त्यमुनिमा २६ मिलिमिटर, हरिद्वारको खानपुरमा २३.५ मिलिमिटर र टिहरी गढवालको चम्बामा १९.५ मिलिमिटर वर्षा भएको छ ।
राज्यका विपद् व्यवस्थापन सचिव विनोदकुमार सुमनका अनुसार राज्य इमरजेन्सी रेस्क्यु सेन्टरले अवस्थाको निरन्तर निगरानी गरिरहेको छ । मौसम विज्ञान विभागसँग पनि निरन्तर समन्वय भइरहेको र मौसमसम्बन्धी सबै चेतावनी सर्वसाधारणसम्म पुर्याइरहेको उनले बताएका छन् ।