विराटनगर । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित कोशी राजमार्गमा शनिबार राति दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरे पनि यसको वास्तविक धनी र कारोबारको मुख्य गिरोहसम्म अनुसन्धान कहिले पुग्छ भन्ने प्रश्न उठेको छ ।
शनिबार राति करिब १० बजे प्रहरी चौकी बरगाछीको टोलीले कोशी राजमार्गमा आकस्मिक चेकिङ गरिरहेको थियो । प्रहरीलाई देखेपछि इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को १ च ७३९९ नम्बरको स्कार्पियोले यू–टर्न गरी भाग्ने प्रयास गरेको प्रहरीको भनाइ छ ।
भाग्ने क्रममा स्कार्पियोले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ४८२२ नम्बरको कारलाई ठक्कर दिएको थियो। दुर्घटनापछि स्कार्पियो चालक गाडी छाडेर फरार भएका थिए ।
प्रहरीले स्कार्पियोको खानतलासी गर्दा लुकाई छिपाइ राखिएको १३ पोका गाँजा बरामद गरेको हो । मोरङ प्रहरीले बरामद गाँजाको कुल तौल ३९८ किलो रहेको जनाएको छ ।

पहाडदेखि विराटनगरसम्म कसरी पुग्यो गाँजा ?
पूर्वी पहाडी जिल्लाबाट ठुलो परिमाणमा गाँजा तराईतर्फ आउने गरेको प्रहरी अनुसन्धानबाट देखिँदै आएको छ । विशेष गरी धनकुटाबाट गाँजा आउने गरेको प्रहरीको भनाइ छ ।
धनकुटाको भेडेटार, धरान, इटहरीलगायतका क्षेत्रमा प्रहरी चेकपोस्ट तथा नियमित चेकजाँच हुने अवस्थामा ठुलो परिमाणको गाँजा बोकेको गाडी इटहरी हुँदै विराटनगरसम्म कसरी आइपुग्यो भन्ने प्रश्नसमेत उठेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालले स्कार्पियो इटहरीबाट आएको प्रारम्भिक जानकारी रहेको बताएका छन् । उनका अनुसार प्रहरीको चेकिङ देखेपछि चालकले गाडी घुमाएर भाग्ने क्रममा दुर्घटना भएको हो
गाँजा ओसारपसारमा संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान भइरहेको बताउँदै कटवालले बलियो सूचना प्राप्त भए कारोबारमा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने बताएका छन्।
तर, विराटनगरसम्म गाडी कसरी आइपुग्यो भन्ने प्रश्नमा उनले भने, “उनीहरू कति दिनदेखि कुरेर बसेका हुन्छन्। सूचनाको आधारमा हामीले पक्राउ गर्ने हो । सबै गाडी चेक गर्न सम्भव हुँदैन। सूचना बलियो भए पक्राउ पर्छ।”
गाडी कसको नाममा दर्ता छ ?
प्रहरीका अनुसार बरामद स्कार्पियो नेपालमै दर्ता भएको गाडी हो । गाडी धनीमाथि समेत अनुसन्धान तथा कानुनी कारबाही हुने एसपी कटवालले बताएका छन्। तर गाडी कसको हो भने उनले खुलाएनन् ।
चालकको खोजी भइरहेको तथा गाडी कसको नाममा दर्ता छ, गाँजा कहाँबाट ल्याइएको हो र इटहरी हुँदै विराटनगरसम्म कसरी आइपुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।
तर, ठुलो परिमाणमा गाँजा बरामद भएका घटनामा चालक पक्राउ नपर्दा गाँजाको वास्तविक धनी, लगानीकर्ता र कारोबारको मुख्य सञ्जालसम्म अनुसन्धान पुग्छ कि पुग्दैन भन्ने प्रश्न दोहोरिँदै आएको छ ।
नाम उल्लेख नगर्ने सर्तमा एक स्रोतले गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरूले बाटोमा रकम दिने र कतिपय अवस्थामा स्कर्टिङसमेत हुने दाबी गरेको छ । प्रहरीभित्रै ‘सेटिङ’ हुने भएकाले सहज रूपमा गाँजा सीमापार गराउने गरिएको स्रोतको दाबी छ ।
यस घटनामा पनि चालक दुर्घटनापछि फरार भएका छन्। चालक पक्राउ परेपछि गाँजाको स्रोत, वास्तविक धनी, लगानीकर्ता र मुख्य कारोबारीसम्म पुग्न सक्ने अवस्था रहन्छ । त्यसैले चालकको फरार संयोग मात्र हो वा यसको पछाडि कुनै संगठित कारण छ भन्ने प्रश्न पनि अनुसन्धानको महत्त्वपूर्ण पाटो बनेको छ ।
तर, प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको भन्दै प्रतिक्रिया दिने गरेको छ एक प्रहरी अधिकृतका अनुसार कतिपय अवस्थामा चालक पक्राउ परे पनि उनीहरूले लगानीकर्ता वा मुख्य कारोबारीको नाम खुलाउने गर्दैनन्। उनका अनुसार कतिपय अवस्थामा चालक नै फरार हुने गरेका छन्।