पर्वत । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८, फर्सेमा ठूलो क्षति पुर्याएको छ ।
बाढीका कारण ६६ वटा घर पूर्णरूपमा बगेका छन् भने थप २३ वटा घर उच्च जोखिममा परी बस्न नमिल्ने अवस्थामा पुगेका छन् ।

उच्च जोखिममा रहेका घरबाट स्थानीयवासीका सरसामान सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वत लगायत अन्य सुरक्षा निकायका टोली निरन्तर उद्धार तथा व्यवस्थापनमा सक्रिय छन् ।
सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा आवश्यक उद्धार कार्यलाई निरन्तरता दिइएको छ ।
कालीगण्डकी नदीको बहाव बढेसँगै फर्से क्षेत्रमा थप क्षतिको जोखिम रहेकाले स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।