विराटनगर । सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’मा आधारित नाटक शनिबारदेखि विराटनगरमा मञ्चन भएको छ ।
पूर्वका दर्शकको अनुरोधपछि कान्तिपुर थिएटरले असोज १७ र १८ गते विराटनगरस्थित वीरेन्द्र सभागृहमा नाटक मञ्चन गरेकाे हो ।

दुई दिनमा तीन–तीन शो सञ्चालन गर्ने तयारी गरिएको कान्तिपुर थिएटरले जनाएको छ । विहान ११, २ र ५ बजे समय ताेकिएकाे छ ।

कान्तिपुर थिएटरको यो छैटौँ नाट्य प्रस्तुति हो । सुविन भट्टराईको उपन्यासमा आधारित ‘समर लभ’लाई सम्राट भुजेलले नाट्य रूपान्तरण तथा निर्देशन गरेका हुन् ।

नाटकमा अतीत र सायाको प्रेमकथा, युवा जीवन, सम्बन्ध, भावना तथा विछोडका विभिन्न आयामलाई रंगमञ्चमार्फत प्रस्तुत गरिएको छ ।
नाटकमा सागर खनालले अतीत शर्मा र बास्ना तिमल्सिनाले साया शाक्यको भूमिका निर्वाह गरेका छन् ।
चलचित्र निर्देशक तथा अभिनेता अर्पण थापाले पहिलोपटक रंगमञ्चमा अभिनय गरेका छन् ।

त्यस्तै, विनिता गिरी, रक्षा गौतम, सनम श्रेष्ठ, जानकी बजगाईंलगायत कलाकारको अभिनय नाटकमा रहेको छ ।
काठमाडौंमा मञ्चन हुँदा ‘समर लभ’ले दर्शकको उल्लेख्य चासो पाएको थियो । नाटकको सुरुवाती चरणमै धेरै शो अग्रिम बुकिङ भएको थियो ।
करिब दुई घण्टाको प्रस्तुतिमा संवादसँगै प्रकाश, संगीत र दृश्य संयोजनमार्फत उपन्यासको कथालाई रंगमञ्चमा प्रस्तुत गरिएको छ ।

यसअघि विराटनगरमा कान्तिपुर थिएटरले प्रस्तुत गरेको ‘सेतो धरती’ नाटकले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको थियो । त्यसैको निरन्तरताका रूपमा ‘समर लभ’ विराटनगर ल्याउन लागिएको कान्तिपुर थिएटरका सीईओ प्रकाश पुरीले जानकारी दिए ।
कान्तिपुर थिएटरले नेपाली रंगमञ्चलाई काठमाडौं बाहिरका दर्शकमाझ समेत विस्तार गर्ने उद्देश्यअनुसार विभिन्न सहरमा आफ्ना प्रस्तुति लैजाने तयारी गरिरहेको पुरीले बताए ।

