काठमाडौं । १० वर्षीया बालिकाको अपहरण गरी जंगलमा लुकाएको आरोपमा प्रहरीले एक युवकलाई गोली प्रहार गरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ का २७ वर्षीय युवराज थारु रहेका छन् । प्रहरीले उनलाई तिलोत्तमा नगरपालिका–१७ स्थित कान्छीबजारको जंगलबाट गोली प्रहार गरी पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार थारुले बालिकालाई अपहरण गरी जंगलमा लुकाएका थिए । उनलाई पक्राउ गरेपछि प्रहरीले बालिकाको खोजीलाई तीव्रता दिएको थियो । अपहरण भएको करिब ३७ घण्टापछि बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको बुटवलका डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

