Lite Nepal

सोमबार, आश्विन १९, २०८३

दुबई । इजरायलतर्फ गइरहेको फ्लाई दुबईको विमानमा क्याप्टेनमाथि आक्रमण गरेको आरोप लागेका सह-पाइलट ओमानी नागरिक हमाम अल-हम्मामी रहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। यद्यपि उनको पहिचान तथा कथित उग्रवादी विचारधाराबारे सम्बन्धित निकायबाट औपचारिक पुष्टि भइसकेको छैन।

बुधबार १७४ यात्रुसहित दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको उडान नम्बर एफजेड १०७३ मा ककपिटभित्र सह-पाइलटले भारतीय नागरिक क्याप्टेन स्मित मच्छारमाथि आपत्कालीन बञ्चरोले आक्रमण गरेको संयुक्त अरब इमिरेट्स (यूएई) का अधिकारीहरूले बताएका छन्। यूएईले उक्त घटनालाई ‘आतङ्कवादी कारबाही’ को प्रयासका रूपमा अनुसन्धान गरिरहेको छ।

आरोपित सह-पाइलटबारे के खुलेको छ ?

समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार, घटनाबारे जानकार तीन व्यक्तिले सह(पाइलटको नाम हमाम अल(हम्मामी भएको बताएका छन्। उनीहरूमध्ये एक खाडी कूटनीतिज्ञ र एक पश्चिमी कूटनीतिज्ञ छन्। सञ्चारमाध्यमसँग बोल्ने अधिकार नभएको भन्दै उनीहरूले नाम सार्वजनिक नगर्ने सर्तमा जानकारी दिएका थिए।

एक खाडी कूटनीतिज्ञका अनुसार अल-हम्मामीले एक्लै आक्रमण गरेका हुन् वा कुनै उग्रवादी समूहसँग उनको सम्बन्ध छ भन्ने विषयमा अनुसन्धान भइरहेको छ। सीएनएनले एक स्रोत र इजरायली अधिकारीलाई उद्धृत गर्दै अल-हम्मामी ओमानी नागरिक भएको जनाएको छ। उनी सिरियाली आमाबाट यूएईमा जन्मिएको र लामो समय यूएईमा बसेको बताइएको छ।

द वाल स्ट्रिट जर्नलले अज्ञात स्रोतलाई उद्धृत गर्दै अल-हम्मामीलाई उग्रवादी विचार राखेको आशङ्कामा ओमानमा यसअघि उडान भर्न रोक लगाइएको दाबी गरेको छ। तर ती कथित विचार के थिए र ओमानी अधिकारीहरूले अन्य देश वा सम्बन्धित वायुसेवा कम्पनीलाई यसबारे जानकारी दिएका थिए कि थिएनन् भन्ने स्पष्ट छैन।

सीएनएनले पनि एक क्षेत्रीय कूटनीतिक स्रोतलाई उद्धृत गर्दै यस्तै आशङ्काका कारण उनलाई उडान तालिमबाट हटाएर अर्को जिम्मेवारीमा पठाइएको दाबी गरेको छ। लिंक्डइन प्रोफाइलका आधारमा अल-हम्मामीले ओमान एयरमा करिब सात वर्ष काम गरेको र सन् २०२५ को फेब्रुअरीमा त्यहाँबाट बाहिरिएको जनाइएको छ। त्यसपछि उनी सन् २०२५ को जुनमा रोयल एयर मारोकमा आबद्ध भएको र सन् २०२६ को जनवरीमा त्यहाँबाट पनि बाहिरिएको बताइएको छ।

उनले बेलायतको बकिंघमशायर न्यु युनिभर्सिटीमा उड्डयन व्यवस्थापनसम्बन्धी दूरशिक्षा कोर्स पूरा गरेको विश्वविद्यालयका प्रवक्ताले पुष्टि गरेका छन्। विश्वविद्यालयका अनुसार उनले त्यहाँ कुनै पाइलट तालिम भने लिएका थिएनन्।

उडान एफजेड १०७३ मा के भएको थियो ?

फ्लाइटराडार २४ का अनुसार, उडान एफजेड १०७३ बुधबार बिहान ७: ०५ बजे दुबईबाट तेल अभिभका लागि प्रस्थान गरेको थियो। विमान करिब ३४ हजार फिटको उचाइमा पुगेपछि अचानक तल झर्न थालेको थियो।

उडानसम्बन्धी तथ्यांकअनुसार विमान करिब दुई मिनेटमै १७ हजार फिटभन्दा बढी तल झरेको थियो। त्यसपछि केही उचाइ लिए पनि पुनः तल झरेको थियो। त्यसै क्रममा ककपिटभित्र क्याप्टेन र सह(पाइलटबीच झगडा भएको थियो। सह-पाइलटले आपत्कालीन बञ्चरो प्रयोग गरी क्याप्टेन मच्छारमाथि आक्रमण गरेको आरोप छ।

अबुधाबीको अस्पतालबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गर्दै मच्छारले आफू गम्भीर घाइते अवस्थामा ककपिटको भुइँमा लडेको र विमान तल झरिरहेको महसुस गरेको बताएका थिए।

उनका अनुसार त्यसपछि उनले ककपिटको ढोका खोल्न सफल भए। यात्रु तथा चालक दलका सदस्यहरू ककपिटमा प्रवेश गरी सह(पाइलटलाई नियन्त्रणमा लिए।

त्यसपछि विमान करिब १५ हजार फिटको उचाइमा स्थिर भएको थियो। गैरकानुनी हस्तक्षेपको संकेत दिन विमानको ट्रान्सपोन्डर कोड ७५०० मा परिवर्तन गरिएको थियो।

विमानमा रहेका दुई रिजर्भ पाइलटले नियन्त्रण लिएपछि विमानलाई साउदी अरबको उत्तरपश्चिमी शहर ताबुकतर्फ मोडिएको थियो। स्थानीय समयअनुसार बिहान ९स्४५ बजे विमान सुरक्षित रूपमा अवतरण गरेको साउदी अधिकारीहरूले बताएका छन्। दुवै पाइलटलाई उपचारका लागि अस्पताल लगिएको थियो। पछि उनीहरूलाई अबुधाबी सारिएको जनाइएको छ।

यूएईले के भनेको छ ?

यूएईका महान्यायाधिवक्ता हमाद सैफ अल(शम्सीले शनिबार अनुसन्धानकर्ताहरूले सह-पाइलटले ‘आतङ्कवादी कार्य’ सुरु गरेको निष्कर्ष निकालेको बताएका छन्। उनका अनुसार सह-पाइलटले ककपिटमा राखिएको आपत्कालीन क्र्यास बञ्चरो प्रयोग गरी क्याप्टेनमाथि आक्रमण गर्दै विमानको नियन्त्रण आफ्नो हातमा लिने प्रयास गरेका थिए।

क्र्यास बञ्चरो विमानमा आपत्कालीन अवस्थामा बाटो बनाउन प्रयोग गरिने उपकरण हो।

अल-शम्सीले घटनामा आतंकवादी गतिविधि वा मनसाय जोडिएको छ कि छैन तथा आक्रमण पूर्वयोजना वा कसैको निर्देशनमा भएको हो कि होइन भन्ने विषयमा अनुसन्धान गर्न निर्देशन दिएका छन्।

तर यूएईले हालसम्म आक्रमणको निश्चित उद्देश्य सार्वजनिक गरेको छैन। साथै अल-हम्मामीले एक्लै काम गरेका हुन् वा अन्य व्यक्ति वा समूहको संलग्नता थियो भन्ने विषयमा पनि अनुसन्धान जारी छ। यूएईका राष्ट्रपतीय सल्लाहकार अनवर गर्गशले घटनाले क्षेत्रमा उग्रवादविरुद्धको प्रयास अझै आवश्यक रहेको देखाएको बताएका छन्।

अनुसन्धान कहाँ पुगेको छ ?

घटनाको अनुसन्धान अबुधाबीका सम्बन्धित निकायले गरिरहेका छन्। सरकारी अभियोजन पक्षले आक्रमणको परिस्थिति, उद्देश्य तथा अन्य व्यक्तिसँग सम्भावित सम्बन्धबारे अनुसन्धान गरिरहेको छ।

विमान यूएईमा दर्ता भएकाले घटनामा यूएईको न्यायिक अधिकार क्षेत्र लागू हुने महान्यायाधिवक्ता अल-शम्सीले बताएका छन्। विमानभित्र भएका अपराधमा घटना यूएईबाहिर भएको अवस्थामा पनि यूएईको कानुन लागू हुने उनको भनाइ छ।

अनुसन्धानकर्ताहरूले प्राविधिक परीक्षण, भौतिक तथा डिजिटल प्रमाणको परीक्षण र घटनासँग सम्बन्धित सबै पक्षको अनुसन्धान गरिरहेका छन्। आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि अन्तिम निष्कर्ष सार्वजनिक गरिने अधिकारीहरूले बताएका छन्। यसैबीच, अनुसन्धान जारी रहेकाले इजरायलतर्फका फ्लाई दुबईका उडानहरू हालसम्म स्थगित छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं