Lite Nepal

मंगलबार, आश्विन २०, २०८३

विराटनगर । विराटनगर–१० स्थित ग्यालेक्सी होटल म्यानेजमेन्ट कलेजमा स्विट्जरल्याण्डका प्रसिद्ध हस्पिटालिटी प्रशिक्षक ओलिभियर कुराटले विशेष प्रशिक्षण दिएका छन्।

होटल तथा हस्पिटालिटी क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको ज्ञान, सीप र व्यावहारिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रशिक्षणमा कलेजका निर्देशक तथा शिक्षकहरूको सहभागिता रहेको थियो। सोमबार कलेजको प्रदर्शन हलमा आयोजित कार्यक्रममा प्रशिक्षक कुराटले हस्पिटालिटी उद्योगका पछिल्ला अभ्यास, सेवा व्यवस्थापन, व्यावसायिक दक्षता तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आवश्यक पर्ने सीपका विषयमा प्रशिक्षण दिएका थिए।

ग्यालेक्सी प्रशासनले कान्तिपुर कलेजसँगको सहकार्यमा होटल म्यानेजमेन्टको विशिष्टीकृत कार्यक्रम एडिएचएम सञ्चालन गर्दै आएको छ। उक्त कार्यक्रमको अध्ययनपछि विद्यार्थीहरूले होटल तथा हस्पिटालिटी उद्योगमा आकर्षक रोजगारीका अवसर प्राप्त गर्नुका साथै उच्च शिक्षाका लागि विभिन्न विश्वप्रसिद्ध विश्वविद्यालयमा क्रेडिट ट्रान्सफरको सुविधा समेत उपयोग गर्दै आएका छन्।

स्विट्जरल्याण्ड निवासी प्रशिक्षक कुराटले ग्यालेक्सी कलेजमा एक सातासम्म रहने क्रममा विद्यालय सञ्चालन तथा हस्पिटालिटी शिक्षाका विभिन्न क्षेत्रमा विशिष्टीकृत प्रशिक्षण र तालिम सञ्चालन गर्ने कार्यक्रम रहेको कलेजका निर्देशक धीजनबाबु काफ्लेले जानकारी दिए।

काफ्लेका अनुसार प्रशिक्षणअन्तर्गत कलेजका शिक्षक तथा प्रशासनिक कर्मचारीसँगै विद्यार्थीहरूलाई पनि अन्तर्राष्ट्रिय हस्पिटालिटी क्षेत्रमा आवश्यक पर्ने व्यावहारिक ज्ञान र सीप प्रदान गरिनेछ। यसैक्रममा आज ग्यालेक्सी कलेजमा अध्ययनरत ३ सयभन्दा बढी विद्यार्थीलाई विशेष प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकबाट प्राप्त हुने यस्तो प्रशिक्षणले विद्यार्थीलाई हस्पिटालिटी उद्योगमा आवश्यक पर्ने व्यावहारिक सीपसँग परिचित गराउनुका साथै विश्व बजारमा प्रतिस्पर्धा गर्न थप सक्षम बनाउने कलेजको विश्वास छ।

ग्यालेक्सी कलेजले होटल म्यानेजमेन्ट तथा हस्पिटालिटी शिक्षालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार अघि बढाउँदै विद्यार्थीलाई स्वदेश तथा विदेशमा रोजगारी र उच्च शिक्षाका लागि सक्षम बनाउने उद्देश्यले विभिन्न विशेषज्ञ तथा व्यावहारिक प्रशिक्षणलाई निरन्तरता दिँदै आएको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं