रविन भट्टराई

बिहिबार, आश्विन २२, २०८३

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने बाटोमा रहेका सामुदायीक वन अतिक्रमण गरी धमाधम घरटहरा निर्माण हुन थालेका छन् ।

काफ्लेपाटी भन्दा माथि, ठूलो फेदी भन्दा मुनीको स्थानमा मात्रै ४० वटा घर–टहरा निर्माणका लागि धमाधम घडेरी सम्याउने र घर निर्माण गर्ने कार्य भइरहेको छ । यो सबै क्षेत्र सामुदायिक वन भित्र पर्छ र यहाँ घर टहरा निर्माण गर्नु अबैध मानिन्छ ।

स्रोतले लाइट नेपाललाई दिएको तस्बिरहरुमा घडेरी सम्याएको र घर टहरा नै ठड्याउन सुरुगरिएको प्रष्ट देख्न सकिन्छ । तपाईले यस स्थानमा भइरहेका अतिक्रमणका ताजा तस्बिरहरुमा हेर्न सक्नुहुन्छ ।

काफ्लेपाटीबाट पाथीभरा मन्दिर जाने बाटोका दायाँबायाँका स्थान अतिक्रमण गरी धमाधम घरटहरा निर्माण गर्न त्यति सहज छैन । यो स्थान सामुदायिक वन भित्रको स्थान भएकाले जिल्ला वन कार्यालय, सामुदायिक वन उपभोक्ता समुह, सामुदायिक वन उपभोक्ता महासंघ, पाथीभरा क्षेत्र विकास समिति र प्रशासनको निगरानीमा रहन्छ । तर, यसरी खुलेआम रुपमा घर निर्माण हुनथालेपछि सबै निकायको मिलेमतोमा यो कार्य भएको प्रष्ट हुने स्थानीय सरोकारवाला बताउँछन् ।

अबैधानिक रूपमा वन अतिक्रमण रोकिनुपर्ने बताउँदै आएका सरोकारवालाले उक्त स्थानमा निर्माण भइरहेका ४० घर–टहराबाट प्रति घडेरी २ लाख ५० हजार रुपैयाँ सम्म नियामक निकायका प्रतिनिधिले लिएर मौखिक स्विकृति दिएको आरोप समेत लगाएका छन् ।

‘यो जिल्ला वन कार्यालय र सामुदायिक वनका अध्यक्षहरुको मिलेमतोमा नै भएको देखिन्छ यसका अध्यक्ष तथा प्रतिनिधिले प्रति घडेरी २ लाख देखि २ लाख ५० हजार रुपैयाँ सम्म पैसा लिएर निर्माणको अनुमति दिएका रहेछन्,’ नाम गोप्य राख्ने सर्तमा एक सारोकारवालाले लाइट नेपाललाई बताए ।

अतिक्रमणको घटनाका विषयमा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले आज विहान मात्रै उक्त विषयमा आफूले जानकारी पाएको र क–कस्को मिलेमतोमा यो कार्य भइरहेको हो बुझ्ने क्रममा रहेको बताए । ‘मैले आज विहान यो विषयमा जानकारी पाएँ । कहाँबाट कसरी अनुमति लिएको हो त्यो विषयमा म बुझ्दैछु,’ उनले हामीसँगको टेलिफोन कुराकानीमा भने, ‘यो अनुमति लिएर पनि घर टहरा निर्माण गर्न नपाउने स्थान हो, घटनाको अनुसन्धान गरेर कारबाही प्रकृया अघि बढ्छ ।’

यता सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष सुरज ओझाले भने त्यस क्षेत्रमा संरचना निर्माणका विषयमा आफूलाई हाल सम्म जानकारी नभएको बताए । उनले संरचना निर्माणमा आफ्नो कुनै संलग्नता नरहेको र कुनै रकम पनि नलिएको दाबी गरे । ‘यो विषयमा मलाई हाल सम्म जानकारी थिएन, जानकारी भएको भए हामीले वन कार्यालयलाई उजुरी दिएर नियमबमोजिम कारबाही गर्न भन्ने हो । के भएको रहेछ अब बुझ्छु,’ उनले लाइट नेपालसँग भने ।

यता समग्र वनको निगरानी गर्ने जिल्ला वन कार्यालय भने विहीबार मध्यान्न १२ बजे सम्म कार्यालय प्रमुख विहीन थियो । कार्यालय प्रमुख ललित यादवको सरुवा भएको र उनी जिल्लाबाहिर रहेको डिभिजन वन कार्यालयका कर्मचारीले बताए । घटनाका विषयमा बुझ्न कार्यालयमा फोन गर्दा कोही प्रमुख आज नरहेको जानकारी प्राप्त भएको छ । सरुवा भएका नयाँ डीएफओ श्रीनारायण यादव आज मात्रै कार्यालयमा हाजिर हुने बताइएको भए पनि हामीले सम्पर्क गर्दा सम्म उनी कार्यालयमा पुगेका थिएनन् ।

यस अघिका कार्यालय प्रमुख ललित यादवको संलग्नतामा उक्त स्थानमा संरचना निर्माणका कार्य सुरु भएको समेत आरोप लागेको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी दाहालले चाडपर्वको समयमा अनुगमन पनि नहुने भन्दै मौका छोपेर घर टहरा निर्माण गरेको हुन सक्ने अनुमान गरे । यस क्षेत्रमा यस अघि पनि त्यस क्षेत्रका सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा रातारात घर घटहरा निर्माण हुनेगरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं