विराटनगर । कोशी प्रदेशमा झण्डै दुई दशकपछि शल्यचिकित्सकहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल शल्यचिकित्सक समाज (एसएसएन) को १५औँ राष्ट्रिय सम्मेलन ‘एसएसएनकन २०२६’ आगामी मंसिर १० देखि १२ गतेसम्म मोरङस्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा आयोजना हुने भएको हो ।
एसएसएन कोशी प्रदेशले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी तीनदिने सम्मेलनबारे जानकारी दिएको हो ।

कोशी प्रदेशका अध्यक्ष प्रा. डा. रोहितप्रसाद यादवका अनुसार सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, जापान, फिलिपिन्स, संयुक्त अरब इमिरेट्स (यूएई) र मलेसियाका शल्यचिकित्सक, अनुसन्धानकर्ता, प्राध्यापक तथा चिकित्सक सहभागी हुनेछन् । सम्मेलन केन्द्रीय समाज काठमाडौंको सहकार्यमा आयोजना हुन लागेको हो ।

‘शल्यचिकित्सामा उत्कृष्टताको अभिवृद्धि : नवप्रवर्तन, प्रविधि र सहकार्य’ नाराका साथ आयोजना हुने सम्मेलनमा शल्यक्रियाका नवीन प्रविधि, कम चिरफारबाट गरिने उपचार पद्धति, बिरामी सेवाको गुणस्तर सुधार तथा चिकित्सा क्षेत्रमा भइरहेका नयाँ अनुसन्धानबारे छलफल हुनेछ ।
सम्मेलनको पहिलो दिन मंसिर १० गते तीनवटा पूर्वसम्मेलन कार्यशाला सञ्चालन गरिनेछ । कार्यशालामा इन्डोस्कोपी तथा कोलोनोस्कोपी, हर्नियाको शल्यक्रिया र मलद्वारसम्बन्धी रोगको उपचारबारे व्यावहारिक तालिम दिइने आयोजकले जनाएको छ ।
यस्तै, पेटको क्यान्सर र कलेजोको शल्यक्रियाको तयारीबारे विज्ञहरूसँग अन्तरक्रिया हुनेछ ।
मंसिर ११ र १२ गते मुख्य वैज्ञानिक कार्यक्रम सञ्चालन हुनेछ । यस क्रममा अनुसन्धानपत्र तथा ई-पोस्टर प्रस्तुति, विशेषज्ञ प्रवचन र अन्तरक्रियात्मक सत्र आयोजना गरिनेछन् । हर्निया, अन्ननली, पेट, कलेजो, प्यान्क्रियाज, कोलोरेक्टल, स्तन, युरोलोजी तथा न्युरोसर्जरीसम्बन्धी विषयमा छुट्टाछुट्टै सत्र सञ्चालन हुनेछन् ।
त्यस्तै, रोबोटिक शल्यक्रिया र चिकित्सा शिक्षामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगजस्ता नवीन विषयमा समेत छलफल गरिनेछ । सम्मेलनको औपचारिक उद्घाटन मंसिर ११ गते साँझ हुनेछ ।
कार्यक्रममा ल्याप्रोस्कोपिक शल्यक्रियासम्बन्धी सीप प्रतियोगिता ‘एमआईएस च्याम्पियनसिप’ पनि सञ्चालन गरिनेछ । युवा शल्यचिकित्सक तथा आवासीय चिकित्सकका उत्कृष्ट अनुसन्धानपत्र र पोस्टरलाई विभिन्न विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
सम्मेलनमार्फत अनुभवी र युवा शल्यचिकित्सकबीच ज्ञान तथा अनुभव आदानप्रदान, आपसी सहकार्य विस्तार र नेपालमा शल्यचिकित्सा सेवाका चुनौती तथा सम्भावनाबारे राष्ट्रियस्तरमा बहस गर्ने लक्ष्य राखिएको छ ।
आयोजकले सम्मेलनमा सहभागी हुन नेपाल तथा विदेशमा कार्यरत शल्यचिकित्सक, प्राध्यापक, आवासीय चिकित्सक, अनुसन्धानकर्ता तथा स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ ।