Lite Nepal

आइतबार, आश्विन ०४, २०७७

विराटनगर । प्रदेश १ मा पीसीआर परीक्षण मेसिनसहितको ल्याब पर्याप्त भए पनि परीक्षण दर भने क्षमताअनुसार बढेको छैन। यस्ता प्रयोगशाला ६ वटा छन्। ती ल्याबको परीक्षण क्षमता ३ हजार ९ सय ५० छ तर ५ वटामा दैनिक कोरोनाको स्वाब परीक्षण हुन्छ।

एक हजार क्षमताको एउटा ल्याब सञ्चालन नहुँदासमेत दैनिक २ हजार ९ सय ५० वटा स्वाबको नमुना परीक्षण हुनुपर्ने हो। तर, बढीमा १७ सय स्वाब पनि परीक्षण हुँदैन।

न्यूनतम् २ सय ५० क्षमतादेखि एकै पटक एक हजारसम्मको स्वाब परीक्षण गर्ने पीसीआर मेसिन जडान गरेर स्वाबको परीक्षण गरिन्छ। तर, यतिका मेसिन थुपार्दासमेत एउटा स्वाबको रिपोर्ट आउन कम्तीमा चार दिन कुर्नुपर्ने बाध्यता अझै हटेको छैन।

काम भइरहेका पाँच ल्याबमध्ये सबैभन्दा बढी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबले नमुनाको रिपोर्ट निकाल्ने गरेको सामाजिक विकास मन्त्रालय प्रदेश १ का जनस्वास्थ्य अधिकृत रञ्जु रेग्मीले बताइन्।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ल्याबको क्षमता दैनिक ६ सय ५० देखि ९ सम्म हो। अन्य ल्याबको तुलनामा यो ल्याबमा बढी स्वाब परीक्षण हुने गरेको सामाजिक विकास मन्त्रालयअन्तर्गतको ‘कोभिड—१९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समितिको सचिवालय’ का संयोजक डा। सरोज विशाल बताउँछन्।

धेरै स्वाब परीक्षण गर्ने क्षमताको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबले दैनिक सरदरमा सात सयभन्दा बढी नयाँ स्वाबको रिपोर्ट निकालेको छैन। कम क्षमताको मेची अस्पतालको ल्याबबाट दैनिक ५० देखि ७० वटा मात्रै रिपोर्ट आउँछ।

मेचीमा २ सय ५० वटासम्म नमुनाको परीक्षण गर्न सकिन्छ। बीपीपछि धेरै स्वाब परीक्षण गर्ने क्षमताको प्रदेश प्रयोगशालाले झनै कम परीक्षण गर्छ। आफ्नो क्षमता ६ सय ५० देखि ८ सय भए पनि बढीमा चार सय नमुनाको रिपोर्ट दिने गरेको सामाजिक विकास मन्त्रालयको तथ्यांकले देखाउँछ।

मेसिन किन्ने लहर

प्रदेश १ का तराईका दुई जिल्लामा पीसीआर मेसिन किन्ने र राख्ने लहर नै चल्यो। झापामा ‘एकका लागि एक’ एक अभियान सुरु गरेर नागरिकले नै दुई करोड संकलन गरे। त्यसपछि एक करोडमा पीसीआर मेसिन खरिद गर्दै कन्काई नगरपालिकास्थित कोटीहोममा स्थापना गरे। अहिले उक्त ल्याबबाट पनि परीक्षण भइरहेको छ।

मेसिन सञ्चालन कार्यविधि प्रदेशसँगको सहकार्यमा कन्काई नगरपालिकाले बनायो र त्यसै मातहतमा सञ्चालनमा छ। मेची अञ्चल अस्पतालमा यसअघि नै पीसीआर ल्याब सञ्चालनमा थियो। मेचीकै ल्याब सञ्चालन गर्न जनशक्ति अभाव भइरहेका बेला अर्को ल्याब झापामा खरिद हुँदा स्वास्थ्यकर्मी बाँडिनुपर्ने बाध्यताले दुवै मेसिनबाट क्षमताअनुसार परीक्षण हुँदैन।

विराटनगरमै प्रदेश प्रयोगशाला र कोसी अस्पतालमा पीसीआर ल्याब हुँदाहुँदै पनि विराटनगर महानगरपालिकाले पीसीआर मेसिन खरिद गर्‍यो। महानगरमा संकलन गरिएका स्वाबको परीक्षण ढिला भएको र संक्रमण फैलिएको भन्दै दाताहरूसँगको सहकार्यमा महानगरका मेयर भीम पराजुलीले २८ लाखमा मेसिन खरिद गरे।

तर, अहिले त्यो मेसिनबाट परीक्षण भएकै छैन। परीक्षण गर्न र जनशक्ति कोसी अस्पतालकै प्रयोग गर्ने गरी कोसी अस्पतालमै ल्याब राखे पनि जनशक्ति अभाव र कार्यविधि नहुँदा दैनिक एक हजारसम्म परीक्षण गर्ने ल्याब त्यसै थन्किएको छ।

प्रदेशमा पीसीआर ल्याब ६ वटा भए पनि कोसीको एक, प्रदेश प्रयोगशालाको एक, बीपीको एक, झापाका कनकाई र मेचीका एक÷एक वटा मेसिनबाट मात्रै सानो मात्रामा कोरोनाको पीसीआर परीक्षण भइरहेको छ।

परीक्षण दोहोर्‍याउँदा थोरै देखियो : मन्त्रालय

सामाजिक विकास मन्त्रालयले एकै व्यक्तिको परीक्षण दुई वा सोभन्दा बढी गरेको तथ्यांकलाई नराखेकोले परीक्षण कम देखिएको दाबी गरेको छ। अधिकृत रेग्मीले भन्छिन्, ‘परीक्षण दोहोर्‍याउने दैनिक धेरै नै छन्, दोहोर्‍याउनेको तथ्यांक नराख्ने र नयाँको मात्रै हामीले सार्वजनिक गर्ने हुनाले परीक्षण दर कम देखिएको हो।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं