विराटनगर । असोज २२ देखि विराटनगरमा सुरु भएको ‘विराट ट्रेड फेयर’ २० करोड बढीको कारोबार गर्दै शुक्रबार सकिएको छ ।
विराट व्यापार संघले समापनको अवसरमा शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा संघका अध्यक्ष प्रमोद जिन्दलले १ लाख भन्दा बढी उपभोक्ताहरूले विराट ट्रेड फेयरको अवलोकन गरेको र अनुमान गरेभन्दा बढी कारोबार भएको बताए । आयोजकले यसअघि १६ करोड बढीको कारोबार हुने लक्ष राखेको थियो ।

विराट व्यापार संघले विजया दशमीलाई लक्षित गरेर २०८३ असोज २२ गतेदेखि ३० गतेसम्म विराटनगरको मेनरोड स्थित जैन भवनको प्रांगणमा विराट ट्रेड फेयरको आयोजना गरेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले शुक्रबार एक कार्यक्रमकाबिच विराट ट्रेड फेयरको समापन गरेका हुन् ।
विराट व्यापार संघका वरिष्ठ उपाध्यक्ष एवं विराट ट्रेड फेयरका संयोजक श्यामलाल पौडेल (भवेष) ले भव्य रूपमा कार्यक्रम सम्पन्न भएकोमा आफू उत्साहित रहेको बताउँदै आगामी दिनमा आयोजना हुने कार्यक्रमलाई अझै भव्य बनाउँदै लैजाने बताए ।
यसपटकको विराट ट्रेड फेयरमा उद्योगी तथा व्यवसायी प्रतिष्ठानको १ सय ३० वटा स्टल राखेका थिए ।