काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट भारी मतका साथ सभापति पदमा निर्वाचित गगनकुमार थापाले शनिबार (असोज ३१) पद तथा गोपनीयताको शपथ लिएका छन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच पार्टी निर्वाचन आयोगका संयोजक प्रेमबहादुर खड्काले उनलाई शपथ गराएका हुन् ।
यही असोज १८ देखि २३ गतेसम्म राजधानीमा भएको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचनमा थापा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ६ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै पार्टीको सर्वोच्च पदमा निर्वाचित भएका हुन् ।

शपथग्रहण समारोहमा व्राह्मणहरूद्वारा स्वस्ति तथा वैदिक मन्त्रोच्चारण गरिएको थियो । मन्त्रोच्चारण र धार्मिक विधिबीच पार्टी निर्वाचन आयोगका संयोजक खड्काले सभापति थापालाई शपथ खुवाउँदै प्रमाणपत्र समेत हस्तान्तरण गरे ।

महाधिवेशनबाट निर्वाचित अरू केन्द्रीय पदाधिकारी तथा कार्यसमितिका सदस्यहरूको शपथग्रहण भने तत्काल नहुने भएको छ । बाँकी निर्वाचित पदाधिकारी र सदस्यहरूको शपथग्रहण कार्यक्रम यही बडादसैँ पर्वपछि मात्र आयोजना गरिने जनाइएको छ ।
शपथग्रहणसँगै सभापति थापाले पार्टीलाई नयाँ ऊर्जा र गतिशील नीतिसहित अगाडि बढाउने अनौपचारिक प्रतिबद्धता व्यक्त गरेका छन् । -न्युज एजेन्सी नेपाल