Lite Nepal

आइतबार, कार्तिक ०२, २०८३

एजेन्सी । भारतको पूर्वी राज्य पश्चिम बंगालको राजधानी कोलकातामा दुर्गा पूजा पर्वका क्रममा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

अधिकारीहरूका अनुसार शनिबार राति वर्षा हुन थालेपछि मण्डप नजिकै भेला भएका मानिसहरू ओत लाग्न दौडिँदा भागदौड मच्चिएको हो ।

प्रहरीका अनुसार केही भक्तजन सडकमा लडेपछि भीड अनियन्त्रित बनेको थियो । घटनामा घाइते भएकाहरूको कोलकाता मेडिकल कलेज तथा अस्पतालमा उपचार भइरहेको छ ।

अस्पताल पुगेका मुख्यमन्त्री सुभेन्दु अधिकारीले १९ जनाको मृत्यु भएको र २५ जनाको उपचार भइरहेको जानकारी दिए । उनले राज्यको उच्च अदालतका न्यायाधीशको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरी घटनाको छानबिन गरिने बताए ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गर्दै केही दुर्गा पूजा मण्डपका आयोजक, निजी सुरक्षाकर्मी तथा ड्युटीमा खटिएका कर्मचारीलाई हिरासतमा लिएको छ ।

घटनामा भीड व्यवस्थापन र सुरक्षामा कमजोरी भए–नभएकोबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।

दुर्गा पूजा पर्वका लागि कोलकाताभरि स्थानीय रूपमा ‘पण्डाल’ भनिने करिब तीन हजार पाँच सय मण्डप निर्माण गरिएका छन् । घटनापछि अधिकारीहरूले कोलकाताका धेरै भीडभाड हुने स्थल अस्थायी रूपमा बन्द गर्न आयोजकहरूलाई सुझाव दिएका छन् ।

भारतमा ठूला धार्मिक पर्वका क्रममा भीड अनियन्त्रित हुँदा भागदौडका घटना बारम्बार हुने गरेका छन् । यस्ता पर्वमा लाखौँ मानिस सीमित क्षेत्रमा भेला हुने गरे पनि पर्याप्त सुरक्षा र भीड व्यवस्थापनको अभाव रहने गरेको छ ।

सन् २०२५ जनवरीमा विश्वकै ठूलो धार्मिक जमघटका रूपमा चिनिने महाकुम्भ पर्वका क्रममा पवित्र नदीमा स्नान गर्न हजारौँ हिन्दू तीर्थयात्री एकैपटक अघि बढ्दा कम्तीमा ३० जनाको मृत्यु भएको थियो ।

त्यसैगरी, सन् २०१३ मा मध्य प्रदेश राज्यको एउटा मन्दिरमा धार्मिक पर्वका क्रममा पुल भत्किने डरले तीर्थयात्रीहरू आत्तिँदा भएको भागदौडमा कम्तीमा ११५ जनाको मृत्यु भएको थियो । केही मानिसको नदीमा डुबेर मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं