Lite Nepal

आइतबार, कार्तिक ०२, २०८३

काठमाडौं । बडादसैँको आठौँ दिन आज महाष्टमी पर्वका अवसरमा काठमाडौँ उपत्यकाको ऐतिहासिक भद्रकाली मन्दिरसहित देशभरका प्रमुख शक्ति पीठहरूमा बिहानैदेखि दर्शनार्थी एवं भक्तजनहरूको उल्लेख्य भीड लागेको छ ।

श्रद्धालुहरू बिहानैदेखि लामबद्ध भएर दुर्गा भवानीको स्वरूप मानिने महाकाली, महालक्ष्मी र महासरस्वतीको श्रद्धापूर्वक पूजा आराधना गरिरहेका छन् । आश्विन शुक्ल अष्टमीका दिन मनाइने महाष्टमी पर्वका अवसरमा काठमाडौं उपत्यकाभित्रका भद्रकाली, गुह्येश्वरी, शोभा भगवती, दक्षिणकाली, मैतीदेवी, नक्साल भगवती, संकटा र कालिका स्थान लगायतका शक्ति पीठहरूमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ ।

उपत्यका बाहिरका प्रसिद्ध मन्दिरहरू जस्तै पाल्पाको भगवती, बाँकेको बागेश्वरी, दाङको अम्बिकेश्वरी, गोरखाको मनकामना तथा ताप्लेजुङको पाथीभरा मन्दिरमा समेत श्रद्धालुहरू पूजाआजाका लागि लामबद्ध भएका छन् । यस दिन शक्ति पीठहरूमा विधिपूर्वक घटस्थापना गरिएको स्थानमा विशेष पूजाआजाका साथै बलि दिने परम्परा रहेको छ । बलि नचढाउनेहरूले भने कुभिन्डो, घिरौँला, मूला र नरिवल जस्ता फलफूल तथा वनस्पति अर्पण गरी पूजाआजा गर्ने गर्दछन् ।

आजकै दिन दुर्गा सप्तशती (चण्डी), श्रीमद्भागवत तथा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष स्तोत्र पाठ गर्ने धार्मिक मान्यता रहिआएको छ । महाष्टमीको अवसरमा किसान, कालिगड र सुरक्षाकर्मीहरूले आ–आफ्ना हातहतियार, औजार, सवारी साधन र कल पुर्जाहरूको सफाई गरी विश्वकर्मा र दुर्गा माताको प्रतीकका रूपमा विधिपूर्वक पूजा गरिरहेका छन् ।

आज राति मध्यरातमा शक्ति पीठहरूमा तान्त्रिक विधिबाट कालरात्रि पूजा गर्ने चलन छ, जसलाई असत्यमाथि सत्यको विजयको प्रतीक मानिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं