काठमाडौं । सरकारले भारतीय ब्रान्ड ‘प्रियागोल्ड बिस्कुट’ आयात र बिक्री वितरणमा तत्काल रोक लगाउँदै बजारबाट सम्पूर्ण उत्पादन फिर्ता गर्न निर्देशन दिएको छ ।
बिस्कुट उत्पादनमा मानिसले खान नहुने र गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर प्रयोग गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आइतबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

विभागका महानिर्देशक सञ्जीवकुमार कर्णको उपस्थितिमा बसेको उच्च व्यवस्थापन समूह र प्रडक्ट रिकल प्राविधिक समितिको आकस्मिक बैठकले उपभोक्ताको स्वास्थ्य सुरक्षा ध्यानमा राख्दै उक्त बिस्कुटको पैठारी स्वीकृति र नाकाबाट हुने प्रवेश अनुमति पूर्णरूपमा स्थगन गर्ने निर्णय गरेको छ ।

भारतीय नियामक निकाय ‘भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण’ ले अक्टोबर १७ मा जारी गरेको सूचना आधार मान्दै नेपालले यो निर्णय गरेको हो ।
भारतमा उपभोक्ताको उजुरीपछि त्यहाँको मानक प्राधिकरणले प्रियागोल्ड बिस्कुट उत्पादक कम्पनी ‘सूर्या फुड एन्ड एग्रो लिमिटेड’ को कारखाना निरीक्षण गर्दा गम्भीर लापरबाही फेला पारेको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालका सबै आधिकारिक पैठारीकर्ता र खाद्य व्यवसायीलाई बजारमा रहेका प्रियागोल्ड बिस्कुट (सबै ब्याच र जुनसुकै उत्पादन मिति भएका) तत्काल बिक्री वितरण रोक्न र बजारबाट फिर्ता गर्न आदेश दिएको छ ।
फिर्ता गरिएका बिस्कुट स्थानीय तह वा स्थानीय प्रशासनको प्रतिनिधि र विभागका प्राविधिक कर्मचारीको रोहबरमा मुचुल्का उठाएर सुरक्षित रूपले नष्ट गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।