Lite Nepal

आइतबार, कार्तिक ०२, २०८३

खोटाङ । दशैं-तिहारको संघारमा जीप दुर्घटना हुँदा खोटाङका तीन किशोरीले ज्यान गुमाएका छन् । दशैं तिहार मनाउनका लागि कात्तिक १ गते काठमाडौंबाट घर फर्कनेक्रममा सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानमा को१ज २९७६ नम्बरको जि दुर्घटना हुँदा तीन किशोरीको मृत्यु भएको हो ।

मध्यपहाडी लोकमार्गमा गुडिरहेको जीप सडकबाट करिब दुई सय मिटर तल सुनकोसीमा खस्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी २१ वर्षीय युपना राई, १८ वर्षीय काब्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका १६ वर्षीय स्वस्तिका बिश्वकर्माको घट्नास्थलमै ज्यान गएको हो ।

घाइते बनेका चालकले बताए अनुसार तीन जना यात्रु सुनकोसीमा बेपत्ता भएका छन् । बेपत्ताको अझै पहिचान गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा जीपका चालक ओखलढुंगाका २९ वर्षीय आशिष बिष्ट, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ३८ वर्षीय सम्झना राई, छोरी १२ वर्षीय सिवानी राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १३ वर्षीय अंकित बिश्वकर्मा घाइते भएका छन् ।

घाइतेमध्ये सम्झनाको अवस्था गम्भीर छ । कात्तिक १ गते बिहान करिब साँढे २ बजे काठमाडौँबाट हिँडेको जीप सिन्धुलीमा पुगेपछि दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न बाँकी छ । चाडवाडको समयमा चालक अनिदो बसेर गाडी कुदाउनु, ओभर स्पीड लगायतका कारण दुर्घटना हुने गरेको छ ।

जीपमा सवार यात्रुको नाम, ठेगाना र सम्पर्क विवरणको अभिलेख नहुँदा मृतकको पहिचान गर्न कठिन भएको थियो । आफन्त घटनास्थलमा पुगेपछि मात्रै मृतकको पहिचान खुलेको हो ।

अभिलेखकै अभावमा बेपत्ताको पहिचान गर्न पनि कठिन भइरहेको प्रहरीले जनाएको छ । बेपत्ताको खोजीमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको गोताखोरसहितको संयुक्त टोली खटिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं