म्याग्दी । बेनी नगरपालिका–३ मुसुङ गाउँमा परीक्षणका रुपमा लगाइएको अलैँचीखेती सफल भएको छ ।
परीक्षणका लागि तीन वर्षअघि गरिएको अलैँचीखेती सफल भएपछि व्यावसायिक रूपमा खेती विस्तार गर्न थालिएको हो । बेनी नगरपालिका–३ का वडाअध्यक्ष पदम पुनले चारखोलाको ओसेपिलो उत्तिसको जंगलभित्र लगाएको अलैँचीले राम्रो उत्पादन दिएको बताए । परीक्षण सफलपछि अन्य किसानहरुले पनि विस्तार गर्न थालेको उनले बताए ।

अध्यक्ष पुनका अनुसार अनुकूल हावापानी, भूगोल, बजार र उचित मूल्य पाइने भएपछि बाँझिएको ओसिलो जमिनमा झाडी फाँडेर २० रोपनीभन्दा बढी क्षेत्रफल जमिनमा अलैँची लगाएको हो ।

यस ठाउँमा ५० वर्षअघि पहिरोले खेतीयोग्य जमिन मासिएपछि पछिल्लो समय झाडीमा परिणत भएको थियो । पूर्वी नेपालको कोसी प्रदेशको पहाडी जिल्लामा खेती हुँदै आएको अलैँचीलाई ‘कालो सुन’ भन्ने गरिन्छ । कृषि प्राविधिकका अनुसार समुद्री सतहबाट ८०० देखि एक हजार ८०० मिटर उचाइको ओसिलो ठाउँमा अलैँचीखेती राम्रो हुन्छ ।
वार्षिक दुई हजारदेखि दुई हजार ५०० मिलिलिटर वर्षा हुने ठाउँमा अलैँचीखेती उपयुक्त मानिन्छ । अलैँची खेतीका लागि शीतोष्ण आद्रता भएको जलवायु चाहिन्छ । बेनी नगरपालिकाका कृषि अधिकृत आकृति ढुंगानाका अनुसार नेपालमा रामशाही, गोलशाही र डम्मर शाही जातको अलैँचीखेती हुने गरेको छ । -रासस