Lite Nepal

सोमबार, कार्तिक ०९, २०८३

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि विधिवत् सुरु गरिँदैछ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीपदान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेष रूपमा गरिने तुलसी पूजा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिन्छ ।

आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने आज राति नै मनाइएको छ । मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत र सूर्योदय एवं सायंकालमा पूर्णिमा भएका दिन पूर्णिमा व्रत, कार्तिक स्नान सुरु, आकाशदीपदान र तुलसीको विशेष पूजा आराधना गर्नुपर्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतमले सुनाए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं