काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दिएका हुन् ।

दुवै टोली जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यमा छन् । स्वदेशी तथा विदेशी स्टार खेलाडीले भरिएका विराटनगर र चितवनबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

पहिलो सिजनमा लिग चरणमै सीमित भएको विराटनगरले दोस्रो सिजनमा भने प्लेअफसम्मको यात्रा तय गरेको थियो ।
यता, पहिलो सिजन एलिमिनेटरसम्म पुगेको चितवन दोस्रो सिजनमा लिग चरणबाट अगाडि बढ्न सकेको थिएन ।
एनपीएलमा विराटनगर र चितवनबीच दुई खेल भएका छन् । जसमा दुवैले एक–एक खेल आफ्नो पक्षमा पारेका छन् ।
पहिलो सिजनको लिग चरणमा विराटनगरले ५१ रनको सहज जित निकालेको थियो । दोस्रो सिजनमा भने चितवन हारको बदला लिँदै ४४ रनले विजयी भएको थियो ।