सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसलिया खोलामा बोराभित्र फेला परेका लालजी प्रसाद गुप्ताको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
अनुसन्धानका क्रममा रहेको भन्दै पक्राउ परेका व्यक्तिको विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।

फलामको रडले टाउकोमा प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका व्यक्तिको साथबाट हतियार समेत बरामत भएको प्रहरीले जनाएको छ ।

भारतको उत्तर प्रदेशस्थित वाराणसी घर भएका गुप्ता विगत ४० वर्षभन्दा बढी समयदेखि नेपालमा बस्दै आएका थिए । उनले विराटनगर महानगरपालिका–६ महावीर रोडमा ‘लाल ब्याट्री पसल’ सञ्चालन गर्दै आएका थिए।
प्रदेश प्रहरी कार्यालयको टोली, जिल्ला प्रहरी कार्यालय सुनसरी र मोरङ प्रहरीको संयुक्त टोलीले विराटनगर महानगरपालिका–६ बाट शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।