काठमाडौं । चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभावले देशभर वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर सामान्यतया बादल लागेको छ भने कोशी, बागमती र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका अधिकांश स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ।

त्यस्तै, आज राति पनि देशका अधिकांश स्थानमा वर्षा र हिमपात हुने तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले शनिबार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा भारी वर्षा र हिमपात हुन सक्ने जनाएको छ।