Lite Nepal

शुक्रबार, कार्तिक १३, २०८३

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबका दुई दिन धानलगायत पाकेको अन्नपात नकाट्न, ट्रेकिङ नगर्न र पर्वतारोहीलाई जुन स्थानमा पुगेका छन्, सोही स्थानमा सुरक्षित बसी सावधानी अपनाउन अपिल गरेको छ । प्राधिकरणले हिजो बिहीवार जरुरी सूचना जारी गर्दै शुक्रवार र शनिवार हावाहुरी, चट्याङ, हिमआँधीसहित ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै यस्तो अपिल गरेको हो ।

प्राधिकरणले यो अवधिमा देशभरका हिमाली र उच्च पहाडी भेगमा पर्वतारोहण तथा पदयात्रा नगर्न अपिल गर्दै भनेको छ– ‘कात्तिक १३ र १४ गते हावाहुरी, चट्याङ, हिउँआँधीसहित ठूलो पानी पर्ने सम्भावना छ । त्यसैले देशभरका हिमाली र उच्च पहाडी भेगमा पर्वतारोहण तथा पदयात्रा नगर्नुहोला । ट्रेकिङमा जानुभएको छ भने सुरक्षित ठाउँमा बस्नुहोला । साथै, यो तीन दिन धान नकाट्नु हुन अनुरोध छ ।’

प्राधिकरणका अनुसार हिजो बिहीवार साँझ उपत्यकालगायत देशका विभिन्न जिल्लामा हल्का वर्षा सुरु भएको छ । शुक्रवार र शनिवार दिउँसोसम्म काठमाडौँमा भारीवर्षाको सम्भावना रहेको भन्दै मौसमविद्हरुले उक्त दिन अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले शुक्रवार र शनिवार कर्णाली र सुदूरपश्चिम बाहेक बागमती, गण्डकी, कोशी, मधेस र लुम्बिनी प्रदेशको उच्च हिमाली र पहाडीक्षेत्रमा वर्षाकोे र बागमती प्रदेशको एक दुई स्थानमा अतिभारीसम्मको वर्षाको सम्भावना रहेको जनाएको छ ।
वर्षासँगै ठुलो हुरीबतासको पनि सम्भावना रहेको मौसमविद् प्राडा दीपक अर्यालले बताउनुभयो । उहाँका अनुसार उच्च पहाडीक्षेत्र र हिमालीक्षेत्रमा हिमआँधीको सम्भावना रहेको छ ।

विभागले धेरै शक्तिशाली चक्रवात ‘अर्नव’ अहिले बलियो न्युनचापीय क्षेत्रको रूपमा विकसित भइसकेको र नेपालमा प्रवेश गर्दा अझै कमजोर हुने हुनाले सोको प्रभावले नेपालमा वर्षा र हिमपात तथा हावाहुरीको सम्भावना रहे तापनि चक्रवात ‘अर्नव’ शक्तिशाली हुँदा जस्तो नेपालमा हावाहुरीको सम्भावना नदेखिएको जनाएको छ ।

विभागले बिहीवार साँझ जारी गरेको बुलेटिनमा आज दिउँसो देशभर विभिन्न स्थानमा वर्षा हुनेछ । कोशी,मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा भारीवर्षा र हिमपात सम्भावना रहेको जनाएको छ । आज राती देशका अधिकांश स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा धेरै भारीवर्षा र हिमपातको पनि सम्भावना रहेको जनाएको छ ।

शनिवार दिउँसो कोशी, मधेस,बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्ने र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने बताइएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा भारीवर्षा र हिमपात सम्भावना रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा धेरै भारीवर्षा र हिमपातको पनि सम्भावना रहेको छ ।

भोलि शनिवार राती देशभर साधारणतया बादल लाग्नेछ । देशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । आइतवारदेखि मौसमसुधार हुँदै जाने मौसमविद् प्राडा अर्यालको भनाइ छ।

मौसम विभागले जारी गरेको बुलेटिनअनुसार आइतवार देशभर आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्कासम्मको वर्षा र हिमपातको सम्भावना छ । तराई भूभाग, उपत्यका तथा खाँेचहरूमा बिहानीपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।
सोमवार देशभर आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्कासम्मको वर्षा र हिमपातको सम्भावना छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं