विराटनगर । कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र धनकुटा जिल्लाबाट प्रहरीले लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार कार्तिक १२ गते मोरङको इलाका प्रहरी कार्यालय मधुमल्लाले चेकजाँचका क्रममा मिक्लाजुङ गाउँपालिका–७ का कुशल दाहाल र शिवसताक्षी नगरपालिका–८ का सन्तोष सार्कीलाई ५४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
त्यसैगरी, प्रहरी चौकी इटहराले उर्लाबारी नगरपालिका–९ का प्रताप विश्वकर्मलाई २० ग्राम गाँजासहित पक्राउ गरेको छ। सोही क्रममा झापाको दमक नगरपालिका–४ का सुमन सुवेदीलाई ६६ क्याप्सुल ट्रामाडोल र ८६ ट्याब्लेट स्पास्पेनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यस्तै, झापाको इलाका प्रहरी कार्यालय सुरुङ्गाले कनकाई नगरपालिका–४ का सञ्जय चौधरीलाई ७७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। धनकुटामा पनि प्रहरीले लागूऔषधविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ। प्रहरी चौकी हिलेले धनकुटा नगरपालिका–१ का शिशिर बस्नेत र पाख्रीबास नगरपालिका–५ का सुरज तामाङलाई २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

यसैगरी, इलाका प्रहरी कार्यालय भेडेटारले साँगुरीगढी गाउँपालिका–४ का डम्बर इवा लिम्बुलाई आफ्नै घरबाट १० किलोग्राम गाँजासहित पक्राउ गरेको जनाएको छ। प्रहरीले पक्राउ परेका सबैमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।