Lite Nepal

शुक्रबार, कार्तिक १३, २०८३

काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक आगामी सोमबार दिउँसो ३ बजे बस्ने भएको छ । सिंहदरबारमा बस्ने बैठकले थापालाई राजदूतमा अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ ।

यसअघि असोज २८ गते भएको संसदीय सुनुवाइका क्रममा उठेका प्रश्नको चित्तबुझ्दो जवाफ र आवश्यक विवरण प्राप्त नभएपछि समितिले थापाबारे निर्णय स्थगित गरेको थियो । थापाको जापानको स्थायी बसोबास अनुमति (पीआर), परिवारको पीआर, जापानमा रहेको घर–सम्पत्ति, त्यहाँको सरकारी निकायबाट लिएको तलब तथा स्थानीय तहको सल्लाहकारको भूमिकालाई लिएर प्रश्न उठेको थियो । यस विषयमा समितिमा उजुरीसमेत परेको थियो ।

सुनुवाइका क्रममा थापाले आफूले जापानको पीआर त्यागिसकेको बताएका थिए । तर, उनकी श्रीमतीको पीआर कायमै रहेको र श्रीमतीकै नाममा जापानमा घर रहेको उनले स्वीकार गरेका थिए । यसले स्वार्थ बाझिन सक्ने विषयमा समेत समितिले चासो देखाएको छ ।

थापाको पीआर त्यागेको समय र संविधानको धारा २९१ को व्यवस्थाबारे स्पष्ट हुन समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँग विवरण मागेको थियो । परराष्ट्र मन्त्रालयले पनि नेपाली राजदूतावासमार्फत जापान सरकारलाई पत्र पठाएको छ । तर, हालसम्म त्यसको जवाफ प्राप्त भएको छैन ।

सरकारले असोज २ गते थापासहित १३ जनालाई राजदूतमा सिफारिस गरेको थियो । समितिले असोज ९ गते प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको थियो । सुनुवाइपछि १२ जनाको नाम अनुमोदन भए पनि थापाको हकमा थप विवरण माग्दै निर्णय रोकिएको थियो ।

संविधानको धारा २९२ अनुसार राजदूत नियुक्तिअघि संसदीय सुनुवाइ अनिवार्य हुन्छ । संयुक्त समिति ९कार्य सञ्चालन० नियमावली, २०८० को नियम २५ को उपनियम २ अनुसार समितिले सम्बन्धित निकायबाट नाम प्राप्त भएको ४५ दिनभित्र सुनुवाइ गरी निर्णय पठाउनुपर्ने व्यवस्था छ ।

निर्धारित ४५ दिनभित्र समितिले निर्णय दिन नसके प्रस्तावित व्यक्तिको नाम स्वतः अनुमोदन भएको मानिने व्यवस्था छ । थापाको नाम प्राप्त भएको ४५ दिने समयसीमा आगामी कात्तिक १९ गते सकिँदैछ । सोही समयसीमाभित्र निर्णय गर्ने तयारीअनुसार समितिले सोमबारको बैठक बोलाएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं