धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले प्रहरी नायब निरीक्षक दीपक कटुवाललाई २०८३ साल असोज महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित गरेको छ । धनकुटाको हिले प्रहरी चौकीमा कार्यरत कटुवालले विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पालना गर्दै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको भन्दै उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
कटुवालले विशेष सूचनाका आधारमा लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । गत असोज ९ गते राति करिब ८ः४५ बजे धनकुटा नगरपालिका–१ स्थित एक होटलमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–२ निवासी ३७ वर्षीय मनिष अधिकारीलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका अधिकारीको साथबाट तीन ग्राम पाँच सय मिलिग्राम ब्राउन सुगर बरामद गरिएको थियो । उक्त कारबाहीमा कटुवालले सक्रिय भूमिका निर्वाह गरेका थिए । लागुऔषध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने कार्यमा देखाएको सक्रियता र जिम्मेवारीप्रतिको प्रतिबद्धताको कदर गर्दै उनलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित गरिएको प्रहरीले जनाएको छ ।
