Lite Nepal

शुक्रबार, कार्तिक १३, २०८३

काठमाडौं । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमील्सीनाले शुक्रबार पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन्। विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको तथा पत्रकारको खोजी गर्दै सञ्चारगृहमा पुगेको घटनाप्रति विरोध भइरहेका बेला उनले सामाजिक सञ्जालमार्फत रिहाइको जानकारी दिएका हुन्।

‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्,’ सञ्चारमन्त्रीले लेखेका छन्। उनले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वतन्त्र प्रेस र जिम्मेवार पत्रकारिताको महत्त्वसमेत औँल्याएका छन्।

‘सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्,’ उनको स्टाटसमा उल्लेख छ।

यसअघि शुक्रबार प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराल र डीएनए खबरका प्रधानसम्पादक धिरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो। सुवेदी र बराललाई सम्बन्धित सञ्चारमाध्यमका कार्यालयबाट नियन्त्रणमा लिइएको थियो भने बस्नेतलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा बोलाएपछि नियन्त्रणमा राखिएको थियो ।

त्यसैगरी, नयाँ पत्रिका दैनिकको कार्यालयमा सादा पोसाकका प्रहरी पुगेर संवाददाता नवराज मैनालीलाई साइबर ब्युरोमा उपस्थित गराउन खोजेका थिए। नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तले प्रहरी टोलीसँग पक्राउ पुर्जी नरहेको बताएका थिए।

पत्रकारलाई समाचार कक्षबाटै नियन्त्रणमा लिइएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको थियो। महासंघका महासचिव रामप्रसाद दाहालले यस्तो कार्य प्रेस स्वतन्त्रता र संवैधानिक व्यवस्थाविपरीत भएको भन्दै तत्काल रोक्न सरकारसँग माग गरेका थिए। उनले यस्ता गतिविधि नरोकिए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं