विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसँग बिदाइ भेट गरेका छन् ।
२०७८ साल कात्तिक २५ गते कार्यभार सम्हालेका प्रदेश प्रमुख खापुङ यही कात्तिक २४ गते पाँचवर्षे कार्यकाल पूरा गरी बिदा हुँदैछन् ।

बिदाइ भेटघाटमा मुख्यमन्त्री कार्कीले प्रदेशको विकास र समृद्धिमा प्रदेश प्रमुखले पुर्याएको योगदानप्रति धन्यवाद ज्ञापन गरेका थिए । भेटमा प्रदेशको विकास र विविध पक्षमा कुराकानीसमेत भएको थियो ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा सीमित स्रोतसाधनका बीच विकास र स्थिरतालाई अगाडि बढाउने प्रयत्न भइरहेको जानकारी दिँदै संघीयतापछि पाँचवर्षे कार्यकाल पूरा गरेर बिदा हुन लागेका प्रदेश प्रमुख खापुङप्रति आभार व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले अभिभावकत्व प्रदान गर्दै संवैधानिक तथा कानुनी व्यवस्थालाई सुव्यवस्थित बनाउन प्रदेश प्रमुखको भूमिकाप्रति पनि आभार व्यक्त गरे ।
भेटघाटमा प्रदेश प्रमुख खापुङले आफ्नो कार्यकालमा प्रदेश सरकारले गरेको सहयोग र सहकार्यप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुन्छ । एउटा प्रदेशमा पाँच वर्ष बिताएपछि त्यही प्रदेशमा पुनः प्रदेश प्रमुख रहन नपाइने संवैधानिक व्यवस्था रहेको छ ।
