विराटनगर । विराटनगरमा –१५ स्थित जुटमिल पछाडिको खाली जमिनमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट हुँदा २ जना घाइते भएका छन् ।
विहान करिब साडे ११ बजे भएको उक्त घटनामा स्थानीय ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली घाइते भएका छन् ।

खातुनको दुवै हात र छातीमा सामान्य चोट लागेको छ भने अलीको बायाँ हात र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते दुवै जनालाई उपचारका लागि स्थानीय जितु मेडिकल पठाइएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।