काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्।
टस हारेसँगै जनकपुरले पहिले ब्याटिङ गर्ने भएको छ। पोखरा प्रतियोगितामा पहिलो जितको खोजीमा छ भने जनकपुर दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ। जारी एनपीएलमा पोखराको यो दोस्रो खेल हो। पहिलो खेलमा पोखरा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो। यता, जनकपुरको भने यो तेस्रो खेल हो। यसअघि खेलेका दुई खेलमध्ये जनकपुरले एकमा जित र एकमा हार बेहोरेको छ। पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौंलाई ८ विकेटले हराएको थियो।

आजको खेल जित्दै जनकपुर आफ्नो जित संख्या दोब्बर बनाउने योजनामा छ भने पोखरा प्रतियोगितामा जितको खाता खोल्न चाहन्छ। एनपीएलअन्तर्गत आज एक खेल मात्रै हुँदैछ।
