काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता तथा तत्कालीन मन्त्री मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूसहित ९४ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
प्रारम्भिक जानकारीअनुसार, उक्त मुद्दामा ७६ करोड रुपैयाँ बिगो दाबी गरिएको छ। इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिजको हदबन्दीभन्दा बढी रहेको जग्गा सट्टापट्टा गरी बिक्री गरिएको प्रकरणमा अख्तियारले अनुसन्धानपछि मुद्दा दायर गरेको हो।

उक्त जग्गा बिक्रीका लागि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले सहमति दिएको विषयलाई आधार बनाएर उनीहरूविरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा अभियोग लगाइएको जनाइएको छ।
