बझाङ। बझाङको केदारस्युँ गाउँपालिका–७ भानचौरस्थित भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बुधवार बिहान केदारस्युँ गाउँपालिका–७ भानचौरबाट काँडाचौरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३७६ नम्बरको जिप ब्रेक फेल भई सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा परी केदारस्युँ गाउँपालिका–७ काँडाचौर निवासी अन्दाजी २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते हुनेहरूमा केदारस्युँ गाउँपालिका–७ निवासी ४५ वर्षीय प्रमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी र २२ वर्षीया रेखा धामी रहेका छन्। त्यस्तै, दुर्गाथली गाउँपालिका–६ निवासी ४२ वर्षीया शारदा धामी जाग्री र ४२ वर्षीय रामकुमार धामी पनि घाइते भएका छन्।

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ। दुर्घटनापछि जिपमा सवार यात्रुहरूको विवरण संकलन गर्ने कार्य भइरहेको छ भने दुर्घटनाको कारण र घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
