विराटनगरमा पुस २ देखि ११ गतेसम्म विराट एक्स्पो २०२६ आयोजना हुने

२७५ भन्दा बढी स्टल रहने, २ लाख ५० हजार अवलोकनकर्ता भित्र्याउने आयोजकको लक्ष्य

Lite Nepal

बुधबार, कार्तिक १८, २०८३

विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा ९ औँ संस्करणको विराट एक्स्पो २०२६ आगामी पुस २ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ। विराटनगर–१४ स्थित डिग्री क्याम्पस परिसरमा आयोजना हुने एक्स्पोमा २७५ भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ।

उद्योग संगठन मोरङले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी एक्स्पोको तयारी, उद्देश्य तथा कार्यक्रमबारे जानकारी गराएको हो। संगठनका अध्यक्ष नन्दकिशोर राठीका अनुसार यसपटकको एक्स्पो विगतका संस्करणभन्दा फरक अवधारणामा आयोजना गर्न लागिएको छ।

यसपटकको एक्स्पोलाई स्टलको संख्याभन्दा अवसरको आधारमा डिजाइन गरिएको अध्यक्ष राठीले बताए। एक्स्पोमा १० वटा अवसर क्षेत्रलाई ६ वटा एकीकृत प्लेटफर्ममार्फत प्रस्तुत गरिनेछ। एक्स्पोको मुख्य उद्देश्य विद्यार्थीलाई करियरको सम्भावना पहिचान गराउने, युवालाई सीप तथा रोजगारीका अवसरसँग जोड्ने, उद्यमीलाई बजार र लगानीको सम्भावना खोज्न सहयोग गर्ने तथा उद्योगीलाई नयाँ ग्राहक र व्यावसायिक साझेदारीको अवसर प्रदान गर्ने रहेको संयोजक काबराले जानकारी दिए।

एक्स्पोमा नवप्रवर्तन तथा उद्यमशीलतासम्बन्धी प्रदर्शनीका साथै उद्योग तथा व्यवसाय सञ्चालनका लागि आवश्यक दर्ता, कानुनी परामर्श, ब्रान्डिङ, प्याकेजिङ, गुणस्तर परीक्षण र प्रमाणीकरणलगायत सेवा उपलब्ध गराइनेछ। त्यस्तै, तीन दिनसम्म १८ जिल्लाका अवसरसम्बन्धी प्रस्तुतीकरण गरिने आयोजकले जनाएको छ।

नेपाल–भारत तथा नेपाल–बंगलादेशबीचको व्यावसायिक सम्बन्ध र सम्भावनालाई जोड्ने विषयगत समिट पनि एक्स्पोका आकर्षण रहनेछन्। प्रत्येक साँझ राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुतिसमेत आयोजना गरिनेछ।

एक्स्पोमा कोशी प्रदेशका १४ वटै जिल्लाका कृषि, महिला, घरेलु तथा साना उद्यमीका उत्पादनलाई विशेष प्राथमिकता दिइनेछ। त्यसैगरी सुनसरी–मोरङ औद्योगिक करिडोरका प्रमुख औद्योगिक उत्पादनसमेत विशेष रूपमा प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार एक्स्पोमा करिब २ लाख ५० हजार अवलोकनकर्ता, ३०० भन्दा बढी कम्पनी तथा संस्थाको सहभागिता र २५ हजार विद्यार्थीको उपस्थिति गराउने लक्ष्य राखिएको छ। यसैगरी १ हजार ५०० भन्दा बढी व्यावसायिक सम्पर्क निर्माण, २ हजार युवालाई रोजगारीका अवसरसँग जोड्ने तथा कम्तीमा २० वटा लगानीयोग्य स्टार्टअप र उद्यमशील परियोजनालाई लगानीकर्तासमक्ष प्रस्तुत गर्ने लक्ष्य लिइएको छ।

आयोजकले विराट एक्स्पो २०२६ लाई औद्योगिक उत्पादनको प्रदर्शनीमा मात्र सीमित नराखी सीप, रोजगारी, लगानी, नवप्रवर्तन र व्यावसायिक साझेदारीको साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं