काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू नैतिक रूपमा बलियो धरातलमा उभिएको बताएका छन् । आफ्नो इमानदारी र नैतिकतामाथि प्रश्न उठाउँदै बदनाम गर्ने प्रयास भइरहेको भन्दै उनले त्यसको प्रतिवाद गरेका हुन् ।
बिहीबार दिउँसो भिडियो सन्देश सार्वजनिक गर्दै थापाले बिचौलिया भनिएका इनम सापकोटासँग जोडेर कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा आफूलाई मुछ्ने प्रयास भइरहेको बताए । उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता वा दोष नरहेको उनको दाबी छ ।

‘म गगन थापा, तपाईंको दाइ, भाइ, साथी, छोरा र सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन । मैले सधैँ भन्दै आएको छु, मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन । मेरो हात सधैँ सफा छन् । यति नभएको भए लड्ने आँट आउँथ्यो ?’ उनले भने ।

नैतिक रूपमा आफू बलियो भएकै कारण सरकारका गलत कामविरुद्ध आवाज उठाउन सकेको थापाको भनाइ छ । विगतमा आफूभन्दा शक्तिशाली सरकारका गलत निर्णय र कामको समेत विरोध गर्दै आएको उल्लेख गर्दै उनले आफ्नै पार्टीको सरकार हुँदा पनि गलत कामविरुद्ध बोल्न नछाडेको बताए ।
‘म आज मात्र बोलेको हुँ र ? योभन्दा बलियो सत्ता भएको समयमा पनि गलत काम हुँदा त्यससँग लडेर प्रश्न गर्दै आएको छु । आफ्नै पार्टीको सरकार हुँदा पनि गलत कामविरुद्ध बोल्न छाडिनँ,’ उनले भने । आफ्नो स्वच्छता र इमानदारीमा सम्झौता नगरेकाले नै गलत कामविरुद्ध बोल्ने आँट आएको उनको दाबी छ । नैतिक रूपमा कमजोर भएको भए सत्ताविरुद्ध प्रश्न उठाउन नसक्ने उनले बताए ।
थापाले आफ्नो चरित्रमाथि प्रश्न उठाउने र विवादमा तान्ने उद्देश्यले सरकारबाट प्रायोजित अडियो सार्वजनिक गरिएको दाबीसमेत गरे । पटक–पटक विभिन्न विवाद र चुनौतीको सामना गर्दै अघि बढेको उल्लेख गर्दै उनले आफ्नो सबैभन्दा ठूलो शक्ति नैतिक बल र स्वच्छता भएको बताए ।
‘मेरो वरिपरि विवाद ल्याइएको छ । व्यापक रूपमा मेरो चरित्रमाथि प्रश्न गरिएको छ । प्रत्येक पटक लडेर आएको छु, प्रत्येक पटक बाँचेर आएको छु । ढलेको छैन नि म । किन थाहा छ रु तपाईंहरूको शुभेच्छा र आशीर्वाद आफ्नो ठाउँमा छ । सबैभन्दा ठूलो कुरा मेरो मोरल स्ट्रेन्थ हो । यो लडाइँमा म किन बाँचेको छु भने म सफा छु, स्वच्छ छु र ठीक ठाउँमा उभिएको छु । त्यसैले ढुक्क रहनुस्,’ उनले भने ।
थापाले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई विचलित नहुन र आफूलाई विश्वास गर्न आग्रह गरेका छन् ।