काठमाडौं । नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)सँग भेटवार्ता गरेका छन् ।
बिहीबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर मिश्रीले भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा के के विषयमा कुराकानी भयो भन्ने सार्वजनिक गरिएको छैन ।

विगतमा प्रधानमन्त्रीको निजी सचिवालयले प्रधानमन्त्रीको भेटबारे तस्वीरसहित सूचना दिने गरेको थियो । तर मिश्रीसँगको भेटबारे केही सार्वजनिक गरिएको छैन ।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री बुधबार नेपाल आएका हुन् ।
मिश्री आजै नयाँ दिल्ली फर्किने छन् ।
प्रधानमन्त्री साहको मंसिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारीका लागि मिस्री नेपाल आएका हुन् ।
विदेश सचिव मिस्रीले बुधबार परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गरेका थिए ।