खाँदबारी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ मा निर्माण गर्ने तयारी भइरहेको विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको प्रस्तावित निर्माण क्षेत्रको अनुगमन गरेका छन्।
मुख्यमन्त्री कार्कीले विश्वविद्यालयका लागि उपलब्ध गराइएको जग्गाको स्थलगत अवलोकन गर्नुका साथै विश्वविद्यालयमा आगामी दिनमा सञ्चालन गर्न सकिने शैक्षिक तथा भौतिक पूर्वाधार विकासका विषयमा सरोकारवालासँग छलफल गरेका छन्।

अनुगमनपछि जिल्ला समन्वय समितिको कार्यालयमा विश्वविद्यालयको बृहत् गुरुयोजनाबारे प्रस्तुति तथा छलफल कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा मुख्यमन्त्री कार्कीले विशिष्ट प्रकृतिको यस विश्वविद्यालयलाई विश्वकै उत्कृष्ट शैक्षिक तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सकिने बताए। उनले विश्वविद्यालयलाई छिटो सञ्चालनमा ल्याउन प्रदेश सरकारले आफ्नो स्रोतसाधनले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

विश्वविद्यालयका लागि खाँदबारी नगरपालिका–९ र भोजपुरको षडानन्द नगरपालिका–६ मा गरी कुल ४१६ रोपनी जग्गा उपलब्ध रहेको छ। उक्त जग्गामा भौतिक संरचना निर्माणको काम चालु वर्षभित्रै सुरु गर्ने तयारी गरिएको छ। विश्वविद्यालयको कामलाई व्यवस्थित रूपमा अगाडि बढाउन बृहत् गुरुयोजनासमेत तयार भइसकेको विश्वविद्यालयका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अर्जुनबहादुर कार्कीले जानकारी दिए।
नेपाल सरकारको लगानीमा स्थापना भएको विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय एक विशिष्ट प्रकृतिको केन्द्रीय विश्वविद्यालय हो। नेपालको मौलिक चिकित्सा पद्धति आयुर्वेद, योग, ध्यान, हिमाली चिकित्सा, जडीबुटी तथा वैकल्पिक चिकित्साको अध्ययन, अध्यापन र अनुसन्धानलाई प्रवर्द्धन गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गरिएको हो।
यस विश्वविद्यालयको नाम समाज सुधारक, महिला अधिकारकी अग्रणी अभियन्ता तथा क्रान्तिकारी योगमाया न्यौपानेको सम्मानमा राखिएको हो। भोजपुरमा जन्मिएकी योगमायाले तत्कालीन राणा शासनको समयमा सामाजिक विभेद, अन्याय, कुरीति र लैङ्गिक असमानताविरुद्ध सशक्त आवाज उठाएकी थिइन्। उनको सामाजिक सुधार अभियान, संघर्ष र योगदानको सम्मान गर्दै विश्वविद्यालयको नामकरण गरिएको हो।
विश्वविद्यालय स्थापनाको अवधारणा आर्थिक वर्ष २०७०/७१ देखि अघि बढाइएको थियो। आर्थिक वर्ष २०७३/७४ को सरकारको नीति तथा कार्यक्रममा समेत विश्वविद्यालय स्थापनाको विषय समावेश गरिएको थियो। वि.सं. २०७९ साउन २८ गते योगमाया आयुर्वेद विश्वविद्यालय ऐन, २०७९ जारी भएपछि विश्वविद्यालय स्थापनाले औपचारिक कानुनी आधार प्राप्त गरेको हो। पछि यसको नाम परिवर्तन गरी विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय कायम गरिएको हो।
विश्वविद्यालयको केन्द्रीय कार्यालय कोशी प्रदेशको सङ्खुवासभा जिल्लास्थित खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा रहेको छ। सरकारले आवश्यक पदाधिकारी नियुक्त गरी विश्वविद्यालयको संस्थागत तथा प्रशासनिक कामलाई अगाडि बढाएको छ।
कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले विश्वविद्यालयलाई नेपालको मौलिक ज्ञान, परम्परागत चिकित्सा प्रणाली र आधुनिक अनुसन्धानलाई एकीकृत गर्ने राष्ट्रिय महत्त्वको शैक्षिक संस्थाका रूपमा विकास गरिने बताए।