काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनममा द्विपक्षीय भेटवार्ता भएको छ । ३१औँ साझेदारी शिखर सम्मेलन २०२६ मा सहभागी हुने क्रममा भेटवार्ता भएको हो ।
त्यसक्रममा नेपाल–भारतबीचको व्यापार, पारवहन, औद्योगिक सहकार्य, लगानी प्रवर्द्धन, गुणस्तर प्रमाणीकरण तथा नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचलगायत महत्त्वपूर्ण विषयमा विस्तृत छलफल भएको थियो । भेटवार्ताका क्रममा मन्त्री साहले नेपाली उद्योगले भारतीय बजारमा प्रवेश गर्दा गुणस्तर प्रमाणीकरण तथा भारतीय मानक ब्युरोको प्रमाणपत्र प्राप्त गर्न भोग्नुपरेका प्रक्रियागत जटिलता, समय र लागतसम्बन्धी समस्या प्रस्तुत गरेका थिए ।

विशेष गरी नेपाली सिमेन्ट, स्टिल, प्लाइउड, जुत्ता, धागो तथा अरू औद्योगिक उत्पादनको प्रमाणीकरण प्रक्रियालाई सरल, सहज र समयबद्ध बनाउन उनले आग्रह गरे ।

नेपालमै भारतीय मानक ब्युरोको मापदण्डअनुरूपको परीक्षण प्रयोगशाला स्थापना गर्ने प्रस्तावप्रति भारतीय मन्त्री गोयलले सकारात्मक चासो र तत्परता व्यक्त गरेका मन्त्री साहको सचिवालयले जनाएको छ ।
गोयलले यस विषयलाई अगाडि बढाउन आफ्नो मन्त्रालयका सम्बन्धित सचिवलाई आवश्यक समन्वय तथा प्रक्रिया अघि बढाउन निर्देशन समेत दिएका जनाइएको छ ।