काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रहरी संगठन अहिले दुई भागमा विभाजन भएको टिप्पणी गरेका छन् । शनिबार (कात्तिक २८) एमाले वाग्मती प्रदेश कमिटीको बैठकमा उनले प्रहरी अहिले सरकारबाट मार खाने र हेरेर बस्ने गरी दुई भागमा विभाजन भएको बताएका हुन् ।
“पुलिस धेरै उत्ताउलिएको थियो । किन उत्ताउलिएको हो ? के पाउँथ्यो ? के पायो अहिले ? अहिले पुलिस दुई भागमा बाँडिएको छ । एउटा मार खानेमा परेका छन्, अर्को हेरेर बस्नेमा परेका छन्,” उनले भने, “खुसी हुनेहरूले भोलि मार खान्छन्, फेरि । त्यही हो ।”

अहिले सरकारले प्रहरी संगठनमाथि अनावश्यक हस्तक्षेप गरेको उनले आरोप लगाए । प्रहरीसँगै सरकारको कार्यशैलीप्रति कर्मचारी, उद्यमी तथा व्यवसायी समेत सन्तुष्ट हुन नसकेको उनको भनाइ छ ।

सरकारले राजनीतिक पूर्वाग्रह राखेर काम गरिरहेको उनले बताए । उनले सरकार बनेकै दिन आफूलाई पक्राउ गरेर प्रतिशोध साँधेको आरोप लगाए ।
आफ्नो गिरफ्तारीविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका एमाले नेता–कार्यकर्तामाथि प्रहरीले निर्मम बल प्रयोग गरेको उनले जिकिर गरे । उनले प्रहरी संगठनको सेवा, सुविधा, पोसाक र कार्य वातावरण सुधारमा एमाले नेतृत्वको योगदान रहे पनि उसको व्यवहार देखेर आफू आश्चर्यचकित भएको उनले बताए ।
कार्यक्रममा केपी ओलीको भनाइ पढ्नोस्–
पुलिस धेरै उत्ताउलिएको थियो । किन उत्ताउलिएको हो ? के पाउँथ्यो ? के पायो अहिले ? अहिले पुलिस दुई भागमा बाँडिएको छ । एउटा मार खानेमा परेका छन्, अर्को हेरेर बस्नेमा परेका छन् । खुसी हुनेहरूले भोलि मार खान्छन्, फेरि । त्यही हो । कर्मचारीहरूको त्यस्तै छ । एकपल्ट कर्मचारीलाई दसैँ आएजस्तो भयो, अब बल्ल चेत आउँदै छ । एकपल्ट उद्यमी, व्यवसायीहरू एक तालले लिएर भज मन गोविन्दम् जस्तो गर्दै गएका थिए । पछि तिनीहरूलाई सम्पत्ति शुद्धीकरण छानबिन भनेर थाल्यो, तमासा ! कहिले के निस्किन्छ, कहिले के निस्किन्छ । अहिले एउटा के बाबु निस्किया छ, इनम सापकोटा । इनम भन्ने एउटा बाबु फेरि त्यो कताबाट निकालेर नचाइराखेका छन्, त्यो के नचाएको हो, त्यो बुझ्दिनँ । इनम सापकोटा भन्ने नचाएका छन् । अनि, इनम सापकोटा जताबाट हेर्यो, त्यो उनकै सम्पर्क, सम्बन्ध, कारोबारी, बिचौलिया जे देखिन्छ । यो केका विरुद्ध ? अब यही दानबहादुरमा सिद्धियो इनम कि अरू कुरामा पनि काम लाग्छ थाहा छैन ।