काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षको प्रदेश अधिवेशन कार्यतालिका एक दिन पछि सारेको छ । मंसिर ४ गतेदेखि सुरु हुने भनिएको प्रदेश अधिवेशन हरिबोधिनी एकादशी परेकाले मंसिर ५ गतेदेखि सुरु हुने भएको हो ।
सचिवालय समितिका संयोजक दीपक कुईंकेलका अनुसार, धार्मिक पर्वका कारण अधिवेशनको मिति एक दिन पछाडि सारिएको हो ।

मंसिर ५ गते गण्डकी प्रदेशबाट अधिवेशन सुरु हुने उनले जानकारी दिए । उनका अनुसार, मंसिर ७ गते लुम्बिनी, १३ गते कर्णाली, १४ गते मधेस, १५ गते सुदूरपश्चिम, १७ गते कोसी र १९ गते वाग्मती प्रदेशको अधिवेशन हुनेछ । सबै प्रदेशमा हुने अधिवेशनमा देउवा सहभागी हुने कुईंकेलले बताए ।

देउवा पक्षले महाधिवेशनमा आठ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने दाबी गरेको छ ।