काठमाडौं । नेकपा (एमाले) ले आगामी स्थानीय तह निर्वाचनको तयारीबारे राष्ट्रिय भेलाका सहभागीबाट लिखित सुझाव लिने भएको छ । पार्टीले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने जनाएको छ ।
भेलामा सहभागी हुने सबैले अनिवार्य रूपमा लिखित सुझाव दिनुपर्ने पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । सोमबार (कात्तिक ३० गते) पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले केन्द्रीय नेतृत्वदेखि पालिका तहसम्मका नेता तथा जनप्रतिनिधिको सहभागिता रहने बताए ।

एमालेका अनुसार आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी गर्नु, पार्टीका निर्णय तथा राजनीतिक बुझाइमा एकरूपता कायम गर्नु र वैचारिक एवं संगठनात्मक एकतालाई थप मजबुत बनाउनु भेलाको मुख्य उद्देश्य रहेको छ ।

भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुख्य सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक राजनीतिक विषय र पार्टीका आगामी कार्यभारबारे विशेष सम्बोधन गर्ने एमालेले जनाएको छ ।
भेलामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले संसदीय संघर्षसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् । अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका महत्त्वपूर्ण काम तथा उपलब्धिको समीक्षा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी, महासचिव शंकर पोखरेलले पार्टीको सुदृढीकरण, शुद्धीकरण तथा स्थानीय तह निर्वाचनसम्बन्धी कार्ययोजना प्रस्तुत गर्ने प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिए ।